चितवन : अटोमोबाइल व्यवसायको प्रवर्द्धन, नयाँ प्रविधिको जानकारी तथा बजार चलायमान बनाउने उद्देश्यले चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने भएको छ। चितवन अटोमोबाइल डिलर्स एशोसिएसन र चितवन अटोमोबाइल एशोसिएसनको संयुक्त आयोजनामा दोस्रो संस्करणको अटो शो आगामी वैशाख १७ गतेदेखि २१ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन हुने आयोजकले जनाएको छ।
्कारर्यक्रम भरतपुर महानगरपालिका, चितवन उद्योग संघ तथा चितवन उद्योग वाणिज्य संघको सहकार्यमा आयोजना हुन लागेको हो। भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले चितवन तीव्र गतिमा आर्थिक र पूर्वाधार विकासतर्फ अघि बढिरहेको भन्दै यस्ता प्रदर्शनीहरूले जिल्लाको आर्थिक गतिविधि बढाउन महत्त्वपूर्ण योगदान गर्ने बताउनुभयो।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले अटो व्यवसायीहरूलाई एउटै थलोमा आफ्ना उत्पादन तथा सेवा प्रस्तुत गर्ने अवसर मिल्ने र उपभोक्तालाई विभिन्न ब्रान्डका सवारी साधनबारे जानकारी लिन सहज हुने उल्लेख गर्नुभयो।
चितवन अटोमोबाइल डिलर्स एशोसिएसनका अध्यक्ष इन्द्रप्रसाद रेग्मीका अनुसार अटो शोमार्फत नयाँ–नयाँ सवारी साधन, आधुनिक प्रविधि, विशेष अफर तथा विशेषगरी विद्युतीय सवारी (ईभी) सम्बन्धी जानकारी उपभोक्तासमक्ष पुर्याइनेछ।
अटो शो २०२६ का संयोजक राजन पियाका अनुसार विश्व बजारमा आएका नयाँ सवारी, स्मार्ट मोबिलिटी सोलुसन, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, बैंकिङ तथा फाइनान्स सेवाहरू एउटै स्थानमा उपलब्ध गराइनेछ। ग्राहकले विभिन्न कम्पनीका नयाँ मोडलका सवारी साधन अवलोकन गर्न, तुलना गर्न तथा विशेष छुट र फाइनान्स सुविधासहित खरिद गर्न सक्नेछन्।
प्रदर्शनीमा साना तथा ठूला गरी विभिन्न ब्रान्डका कार, जिप, मोटरसाइकल र स्कुटरका ७५ वटा स्टल रहनेछन्। बैंक तथा बीमा कम्पनीका स्टलसमेत रहने र अन-द-स्पट फाइनान्स तथा इन्स्योरेन्स सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ।
अटो शोमा सवारी खरिद गर्ने ग्राहकलाई विभिन्न कम्पनीले आकर्षक स्किम तथा छुट प्रदान गर्नेछन्। साथै अवलोकनकर्तामध्ये तीन जनालाई लक्की ड्रमार्फत उपहार प्रदान गरिनेछ। सामाजिक सञ्जालमार्फत प्रचार सामग्री बढी भ्युज र शेयर गर्ने व्यक्तिलाई समेत पुरस्कृत गरिनेछ।
कार्यक्रममा पुराना भिन्टेज सवारी साधन, महँगा बिग बाइक प्रदर्शनी, मोटरसाइकल स्टन्ट, जिमखाना, टिडिएस र्याली लगायतका आकर्षण रहनेछन्। तेस्रो दिन अटोमोबाइल क्षेत्रका विज्ञहरूको सहभागितामा ‘अटो सेमिनार’ तथा चौथो दिन विद्यालयस्तरीय हेल्मेट सचेतना कार्यक्रम र अन्तर्राष्ट्रियस्तरको हेल्मेट वितरण गरिनेछ। उद्घाटनको दिन हुने सवारी र्यालीमा नेपाल अटोमोबाइल स्पोर्ट एशोसिएसन (नासा) बागमती प्रदेशले सहकार्य गर्ने जनाएको छ।
कार्यक्रममा महिन्द्राले मुख्य प्रायोजक तथा एमजीले सहप्रायोजकको रूपमा सहयोग गरेका छन्। आयोजकका अनुसार अटो शोमा करिब १० हजार जनाले अवलोकन गर्ने तथा ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ।
दैनिक स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij