Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी

पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ । अनुशासन समितिको सोमबार (आज) दिउँसो ३ बजे बस्ने बैठकबाट खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी भएको हो ।

अनुशासन समितिका संयोजक तारामान गुरुङले बैठकबाट खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता हुने सङ्केत गरे । ‘उहाँहरूले सर्वोच्च अदालतले गरेको फैसला मान्ने भएपछि त हाम्रीले सोधेको स्पष्टीकरणबारे पनि छलफल गर्नुपर्ने अवस्था देखिएको छ,’ गुरुङले रातोपाटीसँग भने, ‘त्यसैका लागि दिउँसो समितिको बैठक बोलाएको छु ।’

उनले खड्काको स्पष्टीकरणका सम्बन्धमा सभापति गगन थापाले समितिका सदस्यहरूसँग कुराकानी गरेको पनि बताए । तर, आफू भने आइतबार अलि छिटो पार्टी कार्यालय सानेपाबाट बाहिरिएकाले कुराकानी हुन नपाएको बताए । खड्कालाई वैशाख २ गते बसेको अनुशासन समिति बैठकले पार्टीको लेटरप्याड दुरुपयोग गरी नभएको पद उल्लेख गरेर विज्ञप्ति निकालेको भन्दै सात दिने स्पष्टीकरण सोधेको थियो । 

सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्य सकिएको निष्कर्षमा कांग्रेस नेतृत्व पुगेको छ । आइतबार साँझ सभापति थापाले खड्कालाई उनकै निवास गोल्फुटारमा पुगेर भेटेका थिए । खड्काले भने आफूलाई स्पष्टीकरण सोध्ने अनुशासन समितिको निर्णय हास्यास्पद र अर्थहीन रहेको बताउँदै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट