झाडग्राम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार पश्चिम बंगाल भ्रमणका क्रममा एक साधारण झालमुरी पसलमा पुगेर सबैलाई चकित पारिदिएका छन्। झाड़ग्राममा चुनावी र्यालीलाई सम्बोधन गर्न जाने क्रममा मोदीले बाटो छेउकै एक सानो पसलमा रोकिएर झालमुरीको स्वाद लिएका हुन्।
प्रधानमन्त्री मोदीले उक्त भेटघाटको करिब ४० सेकेन्डको भिडियो र केही तस्बिरहरू आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन्। झालमुरी बनाउने क्रममा पसले विक्रम सावले मोदीलाई ‘तपाईँ प्याज खानुहुन्छ?‘ भनेर सोधेका थिए।
जवाफमा मोदीले रमाइलो शैलीमा भने, "हो, प्याज खान्छु, बस दिमाग चाहिँ खान्नँ।’ मोदीको यो ठट्टा सुनेर पसले र त्यहाँ उपस्थित मानिसहरू गलल हाँसेका थिए। झालमुरी पसले विक्रम साव मूल रूपमा बिहारका बासिन्दा हुन् र हाल आमाबुवासँग बंगालमा बस्दै आएका छन्। प्रधानमन्त्री आफ्नो पसलमा आउलान् भन्ने उनले कहिल्यै सोचेका थिएनन्।
_94kwKepnMb.jpg)
विक्रमका अनुसार मोदीले झालमुडी खाएपछि निकै मिठो भएको प्रतिक्रिया दिएका थिए। मोदीले झालमुरीको पैसा तिर्न खोज्दा विक्रमले लिन मानेका थिएनन्, तर प्रधानमन्त्रीले जबरजस्ती पैसा थमाएरै छाडे। करिब १० मिनेट पसलमा बिताएका मोदीले विक्रमको पढाइ र कमाइको बारेमा पनि चासो राखेका थिए। विक्रमले गरिबीका कारण धेरै पढ्न नसकेको र दैनिक १ हजार देखि १२०० भारुसम्म कमाउने गरेको जानकारी मोदीलाई दिए।
_Ur25bX5Qyx.jpg)
सो समयमा प्रधानमन्त्रीले राजनीतिबारे कुनै कुरा नगरी एक साधारण ग्राहक बनेर कुराकानी गरेको विक्रमले बताए। प्रधानमन्त्रीको यो सादगी र ठट्टा गर्ने शैलीको यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij