तेहरान । खाडी क्षेत्रमा जारी तनावका बिच अमेरिकी नौसेनाले एक इरानी मालवाहक जहाजलाई आफ्नो नियन्त्रणमा लिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत टुस्का नामको उक्त जहाजलाई अमेरिकी जल नाकाबन्दी उल्लङ्घन गरेको आरोपमा कब्जा गरिएको पुष्टि गरेका हुन्।
रोकिने चेतावनीलाई बेवास्ता गरेपछि अमेरिकी युद्धपोतले उक्त जहाजको इन्जिन रुममै प्रहार गरेर त्यसलाई बिच समुन्द्रमै रोकेको ट्रम्पको दाबी छ। करिब ९०० फिट लामो र एउटा विमानवाहक जहाज जत्तिकै तौल भएको भनिएको टुस्का इरानी झण्डावाहक जहाज हो।
यो जहाज पहिलेदेखि नै अमेरिकी प्रतिबन्धको सूचीमा रहेको र अवैध गतिविधिमा संलग्न रहेको भन्दै ट्रम्पले अहिले जहाज पूर्ण रूपमा अमेरिकाको नियन्त्रणमा रहेको र त्यसमा के छ भन्नेबारे खानतलासी भइरहेको बताएका छन्। अमेरिकी सेन्ट्रल कमाण्डले सार्वजनिक गरेको भिडियोमा पनि एउटा युद्धपोतबाट मालवाहक जहाजलाई ताकेर गोली प्रहार गरिएको दृश्य देखिन्छ।
यो घटना यस्तो समयमा भएको छ, जब पाकिस्तानमा इरान र अमेरिकाबिच युद्ध अन्त्यका लागि दोस्रो चरणको वार्ताको तयारी भइरहेको चर्चा थियो। ह्वाइट हाउसले उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा जारेड कुश्नर र स्टिभ विट्कफ सम्मिलित टोली वार्ताका लागि पाकिस्तान जान लागेको पुष्टि गरिसकेको छ।
तर, इरानले भने अमेरिकी नाकाबन्दी कायम रहुञ्जेल वार्तामा सहभागी नहुने अडान लिएको छ। इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएले त वार्ताका समाचारहरू नै असत्य भएको दाबी गरेको छ।
फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले गरेको हमलाबाट सुरु भएको यो द्वन्द्व अहिले निकै खतरनाक मोडमा पुगेको छ। राष्ट्रपति ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म जल नाकाबन्दी जारी रहने अडान दोहोर्याएका छन्।
इरानले पनि प्रतिउत्तरमा विश्वको २० प्रतिशत तेल र ग्यास ढुवानी हुने रणनीतिक स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द गरिदिएको छ। यसले गर्दा विश्वबजारमा ऊर्जाको मूल्यमा भारी वृद्धि भएको छ।
पछिल्लो समय पाकिस्तानले दुवै देशबिच मध्यस्थताको प्रयास गरिरहेको भए पनि इरानले अमेरिकाको धम्कीपूर्ण भाषा र अत्यधिक मागका कारण वार्ता अघि बढ्न नसकेको बताएको छ। बुधबार युद्धविरामको समय सकिन लागेकाले तनाव थप बढ्ने देखिएको छ।
ट्रम्पले भने इरानले जलमार्ग बन्द गरेर अमेरिकालाई ब्ल्याकमेल गर्न खोजेको आरोप लगाउँदै यदि शान्ति सम्झौतामा हस्ताक्षर नगरे इरानका हरेक पुल र पावर प्लान्ट ध्वस्त पारिदिने चेतावनी दिएका छन्। इरानले भने अमेरिकाले नै युद्धविरामको सर्त उल्लङ्घन गरेको आरोप लगाउँदै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij