काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा आफ्नो सारा गल्ती कमीकमजोरीहरू सच्याएर पुनर्गठित भएर उठ्ने बताएका छन्।
राप्रपाभित्र कतिपय नेताहरूले पार्टी पुनर्गठनको माग गरेका छन्। महामन्त्री धवल शम्शेर राणाले एक साताभित्र महाधिवेशन मिति घोषणा गर्न अल्टिमेटम दिएका थिए भने महाधिवेशन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोजक समिति बनाउनुपर्ने बताएका थिए।
राप्रपाभित्र फागुन २१ को निर्वाचन परिणामपछि विवाद झन् बढ्दो छ। राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकमा ४ सिट जितेको थियो।
‘राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ। म जस्ता असंख्यको रगत पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन,’ अध्यक्ष लिङ्देनले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
साथै उनले राप्रपा फेरि उठ्ने बताएका छन्।
‘राप्रपा अभिभावकीय राजसंस्था, सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, आर्थिक रूपले मात्र होइन प्रशासनिक दृष्टिकोणले समेत झन्झटिलो र बोझिलो प्रदेश संरचना सम्बन्धित आफ्नो अवधारणाबाट पछाडि फर्कदैन,’ उनले भनेका छन्, ‘आफ्नो सारा गल्ती कमीकमजोरीहरू सच्याएर राप्रपा पुनर्गठित भएर उठ्नेछ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij