चितवन : नेपाल चेपाङ संघका अध्यक्ष केन्द्रिय अध्यक्ष गोविन्द राम चेपाङले चेपाङ बसोबास भएको तीन जिल्लाको भूगोल गाभेर नयाँ गाउँपालिका बनाउन प्रस्ताव गर्नुभएको छ ।
उहाँले चितवनको राप्ती नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३, कालिका नगरपालिकाको वडा नम्बर १० र ११, धादिङको रोराङ गाउँपालिकाको वडा नम्बर ८, ९ र १० तथा मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नम्बर ६ र ७ मिलाएर झोरालाङ गाउँपालिका बनाउन प्रस्ताव गर्नुभएको हो ।
उहाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रिस्तरीय स्थानीय तहको सीमा र नाम हेरफेर, थपघटको निर्णयपछि यस्तो प्रस्ताव गर्नुभएको हो ।
उहाँले नेपाल चेपाङ संघले केन्द्रीयस्तरमै नामाङ्कन तथा सिमाङ्कनका लागि पहल गर्ने बताउनुभएको छ । संघले यस अघि प्रस्ताव गरेको धादिङको बेनीघाट रोराङ र मकवानपुरको राक्सिराङ गाउँपालिका चेपाङकै नाममा राखिएको हो । चितवनमा प्रस्ताव गरेको झोरलाङ गाउँपालिकाको नाम भने राजनिति असमहतीका कारण हुन नसकेको अध्यक्ष चेपाङले बताउनुभयो ।
संविधान धारा ५६ को ५ को आधारमा नयाँ गाउँपालिका चेपाङकै नाममा राख्न उहाँले आग्रह गर्नुभएको छ । चेपाङ भाषामा ‘झोरालाङ’को अर्थ नमस्कार, अभिवादन हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij