काठमाडौं : काठमाडौं महानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक धरोहरले भरिपूर्ण असन बजार क्षेत्रको मौलिकता संरक्षण गर्ने उद्देश्यले आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार कःमिलाछी (कमलाक्षी) चोकदेखि असन, भोटाहिटी चोकदेखि असन र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिबार सवारीसाधन प्रवेश निषेध गरिनेछ।
महानगरपालिकाले शहरभित्रका मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, परम्परागत जीवनशैलीको जगेर्ना तथा सांस्कृतिक पहिचानको प्रवर्द्धनका लागि यो कार्यक्रम ल्याएको जनाएको छ। बढ्दो सवारी चाप र मानवीय भीडका कारण भित्री शहर क्षेत्रमा व्यवस्थापन चुनौती बढ्दै गएकाले यस्तो पहल आवश्यक भएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए।
कार्यक्रम अन्तर्गत शनिबारका दिन असन क्षेत्रमा विभिन्न सांस्कृतिक तथा सामाजिक गतिविधिहरू सञ्चालन गरिनेछन्। स्थानीय रैथाने ज्ञान, सीप, परम्परागत व्यापार, गायन, वादन र नृत्य प्रदर्शन गरिनेछ, जसले काठमाडौंको मौलिक संस्कृति संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
यस अवधिमा असन क्षेत्रका विभिन्न प्रवेश मार्गहरूमा सवारीसाधन पूर्ण रूपमा रोक लगाइनेछ भने आगन्तुकहरूले धरहरा भूमिगत पार्किङ, जमल वहाल तथा अन्य तोकिएका स्थानमा सवारी राखेर पैदलयात्रामार्फत असन प्रवेश गर्नुपर्नेछ। महानगरले सवारी धनीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij