Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनमा रगतको माग बढ्यो, युवा पलायन र रोगका कारण रक्तदाता भने घट्दै

चितवनमा रगतको माग बढ्यो, युवा पलायन र रोगका कारण रक्तदाता भने घट्दै

चितवन : मेडिकल सिटीका रूपमा चिनिएको चितवनमा रगतको माग दिनप्रतिदिन बढ्दै गए पनि  रक्तदाताहरूको सङ्ख्या भने सोही अनुपातमा बढ्न सकेको छैन। बर्सेनि रगतको माग बढे पनि स्वयंसेवी रक्तदाताहरू घट्दै जाँदा बिरामीको उपचारमा समस्या देखिन थालेको छ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार चितवनमा दैनिक १५० युनिटसम्म रगतको माग हुने गर्दछ। तर, सङ्कलनको अवस्था भने निराशाजनक छ। चालु आर्थिक वर्षको फागुनसम्ममा १६९ स्थानमा आयोजित रक्तदान कार्यक्रमबाट ११ हजार ५३२ युनिट र केन्द्रमै आएर रक्तदान गर्नेबाट ३ हजार १८१ युनिट मात्र रगत सङ्कलन भएको छ। अघिल्ला दुई वर्षको तथ्याङ्क हेर्दा पनि केन्द्रमा आएर रगत दिनेहरूको सङ्ख्या लगातार घटिरहेको देखिन्छ।

रगतको माग बढ्नु र दाता घट्नुको मुख्य कारण युवा जनशक्ति वैदेशिक रोजगारीमा जानु र उमेर पुगेका दाताहरूमा उच्च रक्तचाप तथा मधुमेहजस्ता समस्या देखिनु रहेको प्रमुख पौडेलले बताए। चितवनमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र भरतपुर अस्पतालका कारण देशैभरका बिरामी आउने हुनाले यहाँ काठमाडौँपछि सबैभन्दा बढी रगतको माग हुने गर्दछ। माग धान्न नसक्दा छिमेकी १४ भन्दा बढी जिल्लाबाट समेत रगत मगाउनुपर्ने अवस्था छ।

नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेलले निजी र सरकारी अस्पतालमा आउने घाइते तथा बिरामीको चापका कारण सन्तुलन मिलाउन कठिन भएको बताए। यता, ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीले भने रेडक्रसले व्यवस्थापकीय पक्षमा सुधार गरी सङ्घ–संस्थाहरूसँग समन्वय बढाउन सके रगत सङ्कलन वृद्धि हुने सुझाव दिएका छन्।

रक्तदानलाई प्रोत्साहन गर्न विद्यालय र क्याम्पसका पाठ्यक्रममै यसको महत्त्व समावेश गर्नुपर्ने विज्ञहरूको धारणा छ। भरतपुर अस्पतालका पूर्वअध्यक्ष डा. भोजराज अधिकारीले नयाँ रक्तदातालाई आकर्षित गर्न राज्यका तर्फबाट विशेष सहुलियत र उत्प्रेरणाका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। क्यान्सर उपचारमा सबैभन्दा बढी रगत खपत हुने भएकाले चितवनमा रगतको सहज उपलब्धताका लागि सबै पक्षको सहकार्य आवश्यक देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट