Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

दुई वर्षमा बुढानीलकण्ठ नगर अस्पतालले ६१ हजारलाई दियो सेवा

दुई वर्षमा बुढानीलकण्ठ नगर अस्पतालले ६१ हजारलाई दियो सेवा

काठमाडौँ :  बुढानीलकण्ठ नगर अस्पतालले दुई वर्षभित्र कुल ६१ हजार ८२३ जना सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । 

अस्पतालको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा अस्पतालले ६१ हजार ८२३ जनालाई सेवा दिएको तथ्याङ्क सार्वजनिक गरेको हो । अस्पतालले अर्को वर्षदेखि विशेषज्ञसहितको सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद पोखरेलका अनुसार पहिलो वर्ष १ हजार ८०७ जनाले मात्र सेवा लिएका थिए । दोस्रो वर्ष यो सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भई ३८ हजार २१६ पुगेको उनले जानकारी दिए । 

अस्पतालले हाल १४ वटा क्युरेटिभ तथा क्लिनिकल सेवा र १० वटा सार्वजनिक स्वास्थ्य सेवाहरू निःशुल्क रूपमा प्रदान गरिरहेको छ। अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, वर्थिङ सेन्टर, हाडजोर्नी विशेषज्ञ सेवा तथा बालरोग सम्बन्धी ओपिडी सेवा समेत सञ्चालन गर्दै आएको छ ।


कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले नगर अस्पतालले सीमित स्रोत र साधनका बाबजुद हासिल गरेको प्रगतिको प्रशंसा गरे । उनले स्थानीय तहका आधारभूत अस्पतालहरूलाई व्यवस्थित बनाउन प्रदेश सरकारले विशेष सहयोग र ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नगरवासीको स्वास्थ्यमा पहुँच वृद्धि गर्न अस्पतालले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले सेवाको गुणस्तरका विषयमा कुनै गुनासो भए सीधै नगरप्रमुखलाई जानकारी गराउन आग्रह गर्दै अस्पतालको सेवालाई अझ विश्वसनीय बनाइने बताए । 

त्यसैगरी उपप्रमुख अनिता लामाज्यूले राजनीतिक प्रभावभन्दा बाहिर रहेर कर्मचारी छनोट गरिएका कारण अस्पतालले उत्कृष्ट नतिजा दिन सकेको बताइन्। अस्पतालले आगामी २०८२ मङ्सिरदेखि थप विशेषज्ञ सेवाहरू र वर्थिङ सेन्टरलाई अझ सुदृढ बनाउँदै लैजाने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट