Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

इरानका बन्दरगाहहरूमा घेराबन्दी गर्ने ट्रम्पको योजनामा नेटो राष्ट्रहरूले साथ नदिने

इरानका बन्दरगाहहरूमा घेराबन्दी गर्ने ट्रम्पको योजनामा नेटो राष्ट्रहरूले साथ नदिने

लन्डन :  वैशाख इरानका बन्दरगाहहरूमा घेराबन्दी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा नेटो आबद्ध राष्ट्रहरूले साथ नदिने घोषणा गरेका छन्।
युद्ध समाप्त भएपछि मात्रै हस्तक्षेप गर्ने प्रस्ताव अघि सार्दै बेलायत र फ्रान्स लगायतका देशहरूले ट्रम्पको सैन्य अभियानमा सामेल हुन अस्वीकार गरेपछि पश्चिमी सैन्य गठबन्धनभित्रको विवाद थप गहिरिएको छ।

इरानसँगको ६ हप्ता लामो द्वन्द्व अन्त्य गर्न गरिएका वार्ताहरू असफल भएपछि ट्रम्पले सोमबारदेखि नै नाकाबन्दी सुरु भएको घोषणा गरेका थिए। उनले नाकाबन्दी तोडेर आउने कुनै पनि इरानी जहाजलाई अमेरिकी सेनाले ध्वस्त पार्ने चेतावनी समेत दिएका छन्।
सुरुमा ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’ बाट आवतजावत गर्ने सबै जहाज रोक्ने बताए पनि पछि अमेरिकी सेनाले यो नाकाबन्दी इरानी बन्दरगाहमा आउने र जाने जहाजमा मात्रै लागू हुने स्पष्ट पारेको छ। फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि नै इरानले विश्वको कुल तेल आपूर्तिको पाँचौँ हिस्सा ओगट्ने यस जलमार्गमा आफ्ना बाहेक अन्य जहाजलाई अवरोध गर्दै आएको छ। 
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अन्य देशहरू पनि यस नाकाबन्दीमा सहभागी हुने दाबी गरे पनि नेटोका प्रमुख सदस्यहरूले त्यसलाई ठाडै अस्वीकार गरेका छन्। 
बेलायती प्रधानमन्त्री केयर स्टार्मरले आफूहरूमाथि ठुलो दबाब भए पनि इरानसँगको युद्धमा नपस्ने अडान लिएका छन्। उनले बीबीसीसँग कुरा गर्दै नाकाबन्दीलाई समर्थन नगर्ने र युद्धमा नतानिने स्पष्ट पारे।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि यस विषयमा फरक धारणा राख्दै युद्ध सकिएपछि मात्रै सो क्षेत्रमा सुरक्षित जलयात्रा सुनिश्चित गर्न छुट्टै बहुराष्ट्रिय मिसन परिचालन गर्ने योजना अघि सारेका छन्।

नेटो राष्ट्रहरूको यो अडानले राष्ट्रपति ट्रम्पलाई क्रुद्ध पार्ने देखिएको छ। ट्रम्पले यसअघि नै इरानमाथिको आक्रमणका लागि आफ्नो आकाश प्रयोग गर्न नदिने युरोपेली देशहरूबाट अमेरिकी सेना फिर्ता लैजाने र नेटो गठबन्धनबाटै बाहिरिने धम्की दिँदै आएका छन्।

नेटोका महासचिव मार्क रुट्टले युरोपेली सरकारहरूलाई ट्रम्पले होर्मुज क्षेत्रमा ठोस सैन्य प्रतिबद्धता खोजेको जानकारी गराएका थिए। तर, युरोपेली देशहरूले भने इरानसँग सुरक्षित सम्झौता भएपछि मात्रै आफ्ना जहाज पठाउन सकिने बताएका छन्।

यसैबिच, फ्रान्सले बेलायत र अन्य करिब ३० देशहरूसँग मिलेर सो जलमार्गमा ढुवानी सुरक्षाका लागि एक स्वतन्त्र मिसन बनाउने तयारी थालेको छ। यो मिसनले कुनै पनि पक्षको समर्थन नगरी केवल ट्याङ्करहरूको सुरक्षा गर्नेछ।

टर्कीका विदेशमन्त्री हाकान फिदानले पनि कूटनीतिक माध्यमबाट मात्रै समस्या सुल्झाउनुपर्ने भन्दै आगामी जुलाईमा अंकारामा हुने शिखर सम्मेलनमार्फत ट्रम्प र नेटोबिचको सम्बन्धलाई पुनः परिभाषित गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij