नारायणगढ : भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम सञ्चालनलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित प्राङ्गारिक कुरिलो खेती गर्दै आएको छ। आश्रमअन्तर्गत सञ्चालित पशु तथा कृषि फार्ममार्फत कुरिलो, अम्बा, भुइँकटहरलगायत विभिन्न बाली पूर्ण रूपमा प्राङ्गारिक विधिबाट उत्पादन गरिँदै आएको हो।
आश्रमका व्यवस्थापक तारानाथ पौडेलका अनुसार आश्रम सञ्चालनका लागि सामूहिक प्रयासस्वरूप १८ वर्षका लागि वार्षिक ७२ हजार रुपैयाँमा जमिन भाडामा लिएर खेती सुरु गरिएको हो। सो जमिनमध्ये १५ कट्ठामा कुरिलो खेती गरिएको छ। कुरिलो उत्पादनबाट प्राप्त आम्दानीले आश्रम सञ्चालनमा महत्वपूर्ण आर्थिक सहयोग पुगेको उनले बताए।
उनका अनुसार प्राङ्गारिक उत्पादन भएकाले बजार खोज्न समस्या नपर्ने र फार्म तथा आश्रमबाटै सहज रूपमा बिक्री हुने गरेको छ। “प्राङ्गारिक उत्पादन भएकाले खर्च केही बढी लाग्ने भए पनि यसको माग राम्रो छ,” पौडेलले भने।
कुरिलो औषधीय गुणयुक्त बाली भएकाले यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने विश्वास गरिन्छ। आश्रममा उत्पादन गरिने कुरिलोमा कुनै पनि रासायनिक मल वा विषादी प्रयोग नगरी गाईको गोबर र गौमूत्रबाट तयार गरिएको प्राङ्गारिक मल प्रयोग गरिँदै आएको छ।
कुरिलो खेतीमा करिब आठ लाख रुपैयाँ लगानी गरिएको जनाइएको छ। यामअनुसार कुरिलोको मूल्य प्रतिकिलो ५०० रुपैयाँदेखि एक हजार २०० रुपैयाँसम्म पर्ने गरेको छ भने सिजनमा दैनिक करिब २० किलोग्रामसम्म बिक्री हुने गरेको छ। साथै सिजनअनुसार अन्य तरकारीसमेत उत्पादन गरिँदै आएको छ।
पौडेलका अनुसार कुरिलोको मुख्य सिजन चैत, वैशाख र जेठ महिना हो। चार वर्षदेखि उत्पादन हुँदै आएको यो बाली उचित हेरचाह गरेमा १० देखि १२ वर्षसम्म उत्पादन दिन सक्ने उनले जानकारी दिए।
प्राङ्गारिक खेतीमा रोग, कीरा तथा झारको समस्या बढी हुने भए पनि कृषि विकास कार्यालय चितवनका प्राविधिक सहयोगमा खेतीलाई व्यवस्थित बनाउँदै लगिएको आश्रमले जनाएको छ। कुरिलो रोपेको करिब ६ महिनापछि उत्पादन लिन सकिने र माघ, फागुन तथा चैत महिना रोपाइँका लागि उपयुक्त मानिने गरिएको छ। हाल आश्रममा २० जना आश्रित तथा आगन्तुकका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको छ। साथै गाईपालनसमेत गरिएकाले प्राङ्गारिक मल उत्पादनमा सहयोग पुगेको आश्रमले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij