म्याग्दी : बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ।आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले बेनी नगरपालिकाले मङ्गलाघाटमा उक्त केन्द्र सञ्चालन गरेको हो। यस केन्द्रबाट बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र वडा नं ६ को डम्मराका बासिन्दा लाभान्वित भएका छन्। पाँच वर्षको प्रयासपछि केन्द्र स्थापना भएको सञ्चालक समितिका सदस्य नवराज पौडेलले बताए।
“सदरमुकाममै भए पनि निजी क्लिनिक नभएको मङ्गलाघाटका बासिन्दालाई सामान्य बिरामी पर्दा स्वास्थ्य परीक्षण, औषधि लिन, रक्तचाप तथा चिनी रोग परीक्षण गराउन असहज हुने गरेको थियो,” उनले भने, “टोलमै स्वास्थ्य केन्द्र स्थापना भएपछि प्राथमिक उपचारका लागि वडा नं ८ मा पर्ने कालीपुलस्थित प्रदेश अस्पतालमा पुगेर घण्टौँ लाइन बस्नुपर्ने वा निजी क्लिनिक धाउनुपर्ने समस्या हटेको छ।”
बेनी–७ मा यसअघि कुनै स्वास्थ्य संस्था थिएन। केन्द्रमा नगरपालिकाले एक जना सिनियर अहेव र एक जना स्टाफ नर्स खटाएको छ। यहाँ स्वास्थ्य परीक्षण, खोप सेवा, निःशुल्क औषधि वितरण, परामर्श, गर्भ परीक्षण तथा सुत्केरी घरभेटलगायत स्वास्थ्य चौकीबाट प्रदान गरिने आधारभूत सेवा उपलब्ध छन्। मासिक करिब २०० जनाले सेवा लिइरहेको केन्द्रकी सिनियर अहेव सीमा भण्डारी घिमिरेले जानकारी दिइन्।
हाल केन्द्र भाडाको घरमा सञ्चालन भइरहेको छ। बेनी नगरपालिकाले केन्द्र स्थापनाका लागि विनियोजन गरेको रु एक लाख ५० हजार बजेट फर्निचर र स्वास्थ्य सामग्री खरिदमा अपुग भएपछि स्थानीयवासीले रु एक लाख १३ हजार सङ्कलन गरी सहयोग गरेका छन्।
वार्षिक रु ६० हजार घरभाडा तिर्न बजेट अभाव हुँदा समस्या भएको पौडेलले बताए। केन्द्रको आफ्नै भवन निर्माण तथा नियमित सञ्चालनका लागि मङ्गलाघाटवासीले माग गरेका छन्।
नगरपालिकाले वडास्तरीय स्वास्थ्य संस्थामा पुग्न अपायक पर्ने टोलका बासिन्दालाई लक्षित गर्दै यसअघि सिङ्गा, डडुवा, सेताढुङ्गा, गलेश्वर र तोरीपानीमा पनि सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरिसकेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij