Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

विश्व बजारमा आज कच्चा तेलको मूल्यमा तिब्र बृद्धि

विश्व बजारमा आज कच्चा तेलको मूल्यमा तिब्र बृद्धि

काठमाडौंः अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। अमेरिकी नौसेनाले रणनीतिक रूपमा महत्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्मुज’मा नाकाबन्दी गर्ने तयारी गरेपछि सोमबार तेलको मूल्य प्रतिब्यारेल १०० डलर माथि पुगेको छ। 

इरानबाट हुने तेल निर्यात पूर्णरूपमा रोकिनसक्ने डरले लगानीकर्ताहरू चिन्तित बनेका छन्, जसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय बजारमा देखिएको छ। सोमबार लन्डनको ब्रेन्ट क्रुड फ्यूचर ७.६० डलर अर्थात् करिब ८ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.८० डलर पुगेको छ। 

त्यस्तै, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य पनि ८.३१ डलर अर्थात् ८.६ प्रतिशतले वृद्धि भई १०४.८८ डलर कायम भएको छ। दुई साताको अल्पकालीन युद्धविराम पछि शान्ति सम्झौता हुने आशा गरिएपनि वार्ता निष्कर्षविहीन टुङ्गिएपछि बजारमा फेरि अस्थिरता छाएको ऊर्जा विज्ञहरूले बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी सुरु गर्ने घोषणा गरेका थिए। यो नाकाबन्दीले इरानसँग सम्बन्धित दैनिक करिब २० लाख ब्यारेल तेलको प्रवाह रोक्ने अनुमान गरिएको छ। राष्ट्रपति ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनसम्म तेल र ग्यासको मूल्य उच्च नै रहनसक्ने स्वीकार गरेका छन्। 

उनले छ हप्ताअघि इरानमाथि गरिएको आक्रमणको राजनीतिक प्रभाव पर्नसक्ने सङ्केत समेत गरेका थिए। अमेरिकी सेन्ट्रल कमाण्डकाअनुसार सोमबार बिहानैदेखि इरानी बन्दरगाहबाट हुने सबै सामुद्रिक आवागमनमा रोक लगाउने कार्य कार्यान्वयनमा आइसकेको छ।

यता इरानको रिभोलुसनरी गाड्र्सले अमेरिकी कदमको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। इरानले हर्मोज जलडमरूमा आउने कुनैपनि सैन्य जहाजलाई युद्धविरामको उल्लंघन मानिने र त्यसको कडा जवाफ दिइने बताएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij