Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

निर्माण क्षेत्र संकटमा, ‘आपतकाल’ घोषणा गर्न निर्माण व्यवसायी संघ चितवनको माग, इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धि र अभावले काम प्रभावित

निर्माण क्षेत्र संकटमा, ‘आपतकाल’ घोषणा गर्न निर्माण व्यवसायी संघ चितवनको माग, इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धि र अभावले काम प्रभावित

शंकर अधिकारी

चितवन : मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा उत्पन्न अस्थिरताले नेपालमा निर्माण उद्योग गम्भीर संकटमा परेको निर्माण व्यवसायी संघ चितवनले जनाएको छ।संघका अनुसार डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धनजन्य सामग्रीहरूको निरन्तर र अप्रत्याशित मूल्यवृद्धिले निर्माण कार्य प्रभावित हुँदै आएको छ। साथै, बिटुमिन, सिमेन्ट, डण्डी लगायतका निर्माण सामग्रीहरूमा समेत मूल्यवृद्धि र बजारमा देखिएको चरम अभावले समग्र निर्माण क्षेत्र ठप्प हुने जोखिम बढाएको छ।
क्रसर उद्योगमा देखिएका समस्याले आपूर्ति शृंखला थप अवरुद्ध भएको भन्दै संघले निर्माण क्षेत्र थप दबाबमा परेको उल्लेख गरेको संघका महासचिव पुष्कर अधिकारीले बताउनुभयो । 
संघले केन्द्रीय महासंघ, प्रदेश महासंघ तथा जिल्ला संघमार्फत नेपाल सरकार र सम्बन्धित निकायहरूलाई बारम्बार ध्यानाकर्षण गराए पनि हालसम्म समस्या समाधानका लागि ठोस कदम नचालिएको गुनासो गरेको छ।संघका महासचिव पुष्कर अधिकारीद्वारा जारी विज्ञप्तिमा ठेक्का मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकाङ्क (इन्डेक्स) अनुसार मात्र हुने वर्तमान व्यवस्थाले वास्तविक बजार मूल्यवृद्धि प्रतिबिम्बित नगरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।
विज्ञप्तिमा बजारमा निर्माण सामग्रीहरूको वास्तविक मूल्य तीव्र रूपमा बढिरहे पनि इन्डेक्समा घटेको देखाइने प्रचलनले निर्माण व्यवसायीहरू थप आर्थिक संकटमा परेको उल्लेख छ।
वर्तमान परिस्थितिलाई गम्भीर रूपमा लिँदै संघले निर्माण उद्योगलाई ‘आपतकाल’ घोषणा गरी व्यवसायीहरूलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ।
त्यसैगरी, मूल्यवृद्धिअनुसार ठेक्का समायोजन प्रभावकारी बनाउन मूल्य समायोजन मार्गनिर्देशिका–२ तत्काल जारी गर्न तथा सबै अवधिका ठेक्कामा मूल्य समायोजनको व्यवस्था सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरिएको छ।
समस्या यथाशीघ्र समाधान नभए निर्माण परियोजनाहरू गम्भीर रूपमा प्रभावित हुने चेतावनीसमेत संघले दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट