Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवनमा आदिवासी जनजाति पत्रकारलाई जलवायु र वन संरक्षणबारे सशक्तिकरण तालिम

चितवनमा आदिवासी जनजाति पत्रकारलाई जलवायु र वन संरक्षणबारे सशक्तिकरण तालिम

 

भरतपुर :  चितवनका आदिवासी जनजाति पत्रकार तथा सञ्चारकर्मीहरुलाई जलवायु परिवर्तन, वन संरक्षण र वातावरणीय न्यायसम्बन्धी विषयमा सशक्तिकरण गर्न दुई दिने तालिम सञ्चालन गरिएको छ। डिभिजन वन कार्यालय चितवनको सहयोगमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले आफ्ना सदस्यहरुलाई लक्षित गर्दै उक्त तालिम आयोजना गरेको हो।

तालिमको पहिलो दिन डिभिजन वन कार्यालय चितवनका प्रमुख तथा डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले जिल्लाको समग्र वन अवस्थाबारे जानकारी गराउँदै वन र आदिवासी जनजाति समुदायबीचको सम्बन्धबारे प्रकाश पारे। उनले समुदायका मुद्दालाई सञ्चार माध्यममार्फत प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिए।

आचार्यका अनुसार बरण्डाभार क्षेत्र, खगेरी खोला र थाङखोला आसपासका तालतलैया, घाँसे मैदान, वन्यजन्तु र सम्भावित पर्यापर्यटनका विषयमा थप बहस र कार्यक्रम आवश्यक छ। वन संरक्षणसँगै पर्यटन प्रवर्द्धनका सम्भावनालाई पनि सञ्चार माध्यमले प्राथमिकताका साथ उठाउनुपर्ने उनले बताए।

उनले चितवनका पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय र चिउरी–चमेरोबीचको त्रिकोणात्मक सम्बन्धबारे उल्लेख गर्दै संरक्षणमार्फत आयआर्जनका नयाँ सम्भावना सिर्जना गर्न सकिने बताए। “चमेरो संरक्षणसँगै मौरीपालन, पशुपालनजस्ता गतिविधिबाट समुदायको जीवनस्तर उकास्न सकिन्छ,” उनले भने।

कार्यक्रममा इतिहासविद् तथा वातावरणविद् डा. टेकबहादुर गुरूङले आदिवासी जनजाति समुदायको विगतदेखि वर्तमान अवस्थासम्मको विश्लेषण प्रस्तुत गर्दै अझै धेरै मुद्दा ओझेलमा परेको बताए। उनले आफ्ना हकअधिकारका लागि समुदाय आफैँले आवाज उठाउनुपर्नेमा जोड दिए।

वरिष्ठ सञ्चारविज्ञ तथा सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालक समितिकी सदस्य अनिता गुरूङले आदिवासी जनजातिका मुद्दा सञ्चार माध्यममा आउने क्रम बढ्दै गए पनि अझै अपेक्षाअनुसार स्थान नपाएको बताइन्।

666198827_3170155539834517_6739908221969331326_n.jpg
undefined

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीले आदिवासी जनजाति समुदायको आवाज उजागर गर्न फोनिज चितवनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। फोनिज चितवनका अध्यक्ष तुलमान गुरूङले पत्रकारहरुलाई समाचार सामग्री उत्पादन र प्रसारणबारे दक्ष बनाउन तालिम आयोजना गरिएको जानकारी दिए।

४० जना सहभागी रहेको उक्त तालिमको उद्घाटन सत्रमा उपाध्यक्ष उर्गेन तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम आइतबार सम्पन्न हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट