काठमाडौं : स्वतन्त्र सांसद महावीर पुनले प्रतिनिधिसभामा आफ्नो भूमिका कुनै पक्ष–विपक्ष भन्दा पनि निष्पक्ष हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सांसद पुनले आफू आउनै नपर्ने मान्छे आएको बताउँदै आफू निष्पक्ष रहने बताएका छन् ।
‘म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु, किनभने म फरक छु । बोल्ने तरिका, काम गर्ने तरिका फरक छ, सबैकुरा । म प्राय: सबैसँग मिल्दैन,’ पुनले भने, ‘म आउनै नपर्ने मान्छे कसरी यो ठाउँमा आइपुगे भन्न चाहन्छु ।’
म अमेरिका पढेर २०४९ भदौमा आएको उनले बताए । त्यसपछिका ३३ वर्ष एउटा झोला बोकेर पूर्णकालीन समाजसेवीको रूपमा समय काटिरहेको बताउँदै उनले भने, ‘म समाजसेवी हुँ, समाजसेवी नै रहनेछु ।’ सदनमा आफ्नो भूमिकाबारे उनले अगाडि भने, ‘मेरो भूमिका पक्ष–विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ ।’
समाजसेवी भएकाले प्रतिनिधिसभाको उम्मेदवार हुने रहर पनि नभएको र सोचेको पनि नभएको बताए । ‘जेनजी आन्दोलनपछि जेनजी भाइहरूले ताप्लेजुङमा किताब बेचिरहेको बेला बोलाएर शिक्षा मन्त्री बनाए,’ उनले भने । त्यसपछि चार महिना शिक्षा मन्त्री रहँदा शिक्षा क्षेत्रका अनेकौं समस्या, चरम राजनीतिककरण विकृति देखेको उनले बताए ।
‘ती विकृति हटाएर विद्यालय, कलेज र विश्वविद्यालयमा विशुद्ध शैक्षिक वातावरण बनाउन प्रयास गरेको थिएँ,’ उनले भने, ‘त्यसका लागि तीनवटा विधेयकको मस्यौदा बनाएर अध्यादेश ल्याउन र चारवटा नियमावली ल्याउन प्रयास गरेको थिएँ ।’
त्यतिबेला कामचलाउ सरकार भएकाले त्यो नसकिएको उनले बताए । ‘उम्मेदवारी दर्ताको ४० घण्टा अगाडि माघ ४ गते बेलुकी ७ बजेसम्म टुप्पीदेखिको बल लाउँदा पनि विधायन समितिबाट ती काम अघि बढेनन्,’ उनले भने । त्यसपछि मन्त्री पदबाट राजीनामा दिएर चुनाव लड्न गएको दाबी गरे ।
‘यसरी चुनावमा उठ्नै नहुने र नपर्ने मान्छे उठेको हुँ,’ उनले भने । आफू शिक्षा मन्त्री हुँदा ल्याउन खोजेका विधेयक र नियमावली मस्यौदा प्रधानमन्त्री बालेन्द्र शाहको शिक्षा हेर्ने टिमलाई दिइसकेको उनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij