Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सिराहाको गोलबजारमा रहेका अधिकांश डेन्टल क्लिनिक अवैधरूपमा सञ्चालित

सिराहाको गोलबजारमा रहेका अधिकांश डेन्टल क्लिनिक अवैधरूपमा सञ्चालित

सिराहा : सिराहाको गोलबजार नगरपालिका क्षेत्रभित्र रहेका धेरै जसो डेन्टल क्लिनिक अवैधरूपमा सञ्चालन गरेको पाइएको छ। गोलबजार क्षत्रेमा रहेका डेन्टल क्लिनिकहरू राज्यले तोकेको मापदण्ड विपरीत, आधिकारिक संस्थामा दर्ता र अनुमति नगराई सञ्चालन गरेको पाइएको हो।

गोलबजार नगरपालिका ४ मारहेको म्याक्स डेन्टल हेल्थकेयर सेन्टर, वडा नम्बर ६ मा रहेको नवीन डेन्टल क्लिनिक, युनि ग्लोबल डेन्टल क्लिनिक प्रालि, माँ धमिनी डेन्टल क्लिनिक लगायतका आधी दर्जन क्लिनकहरुले आवश्यक प्रक्रिया पुरै नगरी सञ्चालन गरेको नगर स्वास्थ्य शाखा गोलबजारले जनाएको छ।

यता डेन्टल किलनिक संचालकहरुले भने दर्ताको लागि नगरपालिका र प्रदेशमा कागजात पेसगरेको बताएका छन्। म्याक्स डेन्टल हेल्थकेयर सेन्टरका डा इमाम खानले भने, ‘मैले प्रदेश स्वास्थ्य निर्देशनालयमा कागजपत्र बुझाई सकेको छु, ६ महिना पहिला नै अनुगमन पनि भएको हो। तर, अहिलेसम्म मैले अनुमति पाएको छैन।’ कम्पनी रजिष्टारको कार्यालयमा दर्ता रहेको यो क्लिनिक दुई वर्षदेखि सञ्चालनमा छ।

माँ धमिनी डेन्टल क्लिनिक पछिल्लो चार वर्षभन्दा लामोसमयदेखि सञ्चालनमा भएपनि यसले कुनै निकायसँग अनुमित लिएको छैन। यस क्लिनिकका सञ्चालक अनुरुद्र कुमार सिंह डाक्टर पनि होइनन्। उनको योग्यताले क्लिनिक सञ्चालन गर्न नपाउने भएपनि क्लिनिक खोलेर बसेका छन्। तर उनले दर्ताका लागि भने डाक्टरको कागजातसमेत नगरपालिकामा बुझाएको बताए। उनले भने, ‘नगरपालिकाले मागेको सवै बुझाएको छु। डाक्टरको सर्टिफिकेटपनि बुझाएँ तर, नगरपालिको अझै के के भन्छ। मैले बुझ्नै सकेको छैन।’

यी डेन्टल क्लिनिकहरू लामो समयदेखि अवैध तरिकाले सञ्चालन रहेपनि स्थानीय सरकार अनभिज्ञ जस्तै रहेको छ। डेन्टल क्लिनिकमात्र हैन यहाँका धेरै निजिस्तरमा सञ्चालित स्वास्थ्य  संस्थाहरू दर्ता तथा अद्यावधिक नभएपनि यसको नियमन हुन सकेको छैन। यसको अनुगमन र नियमनमा स्थानीय सरकारले चासो नदेखाएको प्रति स्थानीयले प्रश्न उठाउन थालेका छन्।

स्थानीय युवा सन्तोष साहले भने, ‘गोलबजार नगरपालिकाले कुनै पनि विषयमा अनुगमन, नियमन गरिरहेकै छैन। यहाँ उपभोक्ता, जनता ठगिदैं आएपनि नगरपालिकाले यसमा चासो देखाएको छैन। अन्य विषयमा जे भएपनि स्वास्थ्यजस्तो संवेदनशील विषयमा स्थानीय सरकार गम्भीर हुनुपर्छ।’’

स्वास्थ्य शाखाले भने यो नगरपालिकाले कार्यक्रममा राख्नु पर्ने विषय हो। यसमा अलि कम ध्यान गएको छ। हामी यस विषयमा  जनप्रतिनिधी र कार्यालय प्रमुखसँग कुरा राख्छौं।स्वास्थ्य शाखा प्रमुख सरोज कर्णले बताए । उनका अनुसार नगरपालिकामा हालसम्म डेन्टल क्लिनिकहरुले कुनै कागजात नबुझाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट