काठमाडौँ: निकोटिनयुक्त भेप वा विद्युतीय चुरोटले फोक्सो तथा मुखको क्यान्सर गराउन सक्ने सम्भावना रहेको एक विस्तृत अध्ययनले देखाएको छ ।
अष्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयका क्यान्सर अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको यस अध्ययनले भेपिङ आफैंमा क्यान्सरको कारण बन्न सक्ने उल्लेख गरेको छ, जुन केवल धूम्रपानतर्फ लैजाने माध्यम मात्र होइन ।सह–प्राध्यापक बर्नार्ड स्टुअर्टको नेतृत्वमा गरिएको यस अनुसन्धानमा औषधि विज्ञ, महामारी विज्ञ, छाती शल्य चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरू सहभागी थिए ।
सन् २०१७ देखि २०२५ सम्मका क्लिनिकल अध्ययन, जनावरमा गरिएका परीक्षण र प्रयोगशाला तथ्याङ्कहरूको विश्लेषण गर्दा भेपको धुवाँबाट डीएनए क्षति, अक्सिडेटिभ तनाव, ऊतकमा सूजन तथा मुसामा फोक्सोको ट्युमर देखिएको पाइएको छ ।
अध्ययनमा भेपको धुवाँमा विभिन्न क्यान्सरजन्य रसायनहरू, उडनशील जैविक पदार्थ र तताउने कुण्डलीबाट निस्कने धातुहरू समेत पाइएका छन् ।
अनुसन्धानका सह–लेखक फ्रेडी सितासका अनुसार, धूम्रपान छोड्न भेप प्रयोग गर्ने धेरैजसो व्यक्तिहरू अन्ततः दुवै बानीमा अड्किने गर्छन् ।उनका अनुसार, भेप र चुरोट दुबै प्रयोग गर्ने व्यक्तिहरूमा फोक्सोको क्यान्सर हुने जोखिम चार गुणा बढी हुने देखिएको छ ।यद्यपि, यसबाट कति सङ्ख्यामा क्यान्सरका घटना हुनेछन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन, किनकि दीर्घकालीन मानव अध्ययन आवश्यक रहेको बताइएको छ ।
“विद्युतीय चुरोट करिब २० वर्षअघि मात्रै प्रयोगमा आएको हो। यसको असर बुझ्न अझ धेरै समय कुर्नु हुँदैन,” सितासले भने ।
उहाँले नियामक निकायलाई धूम्रपानलाई क्यान्सरको कारण मान्यता दिन ढिलो गरिएको इतिहास दोहोरिन नदिन आग्रह गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij