Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

बागमतीमा १३ बाट घटाएर ७ वटा मन्त्रालय बनाउने सत्तारुढ कांग्रेसको निर्णय

बागमतीमा १३ बाट घटाएर ७ वटा मन्त्रालय बनाउने सत्तारुढ कांग्रेसको निर्णय

हेटौँडा :  बागमती प्रदेशमा ७ वटा मन्त्रालय बनाउने सत्तारुढ दल नेपाली कांग्रेसले निर्णय गरेको छ ।नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा काठमाडौँमा बसेको संसदीय दलको बैठकले प्रदेशमा कायम रहेको १३ मन्त्रालयलाई घटाएर ७ वटा कायम गर्ने निर्णय गरेको हो । 

प्रदेश सरकारले गठन गरेको उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समितिले बुझाएको मस्यौदामा हाल रहेको १३ वटा मन्त्रालयलाई ७ मन्त्रालयमा सीमित राख्न सिफारिस गरेअनुसार कार्यान्वयनमा जाने निर्णय भएको संसदीय दलका सचिव मिनकृष्ण महर्जनले जानकारी दिए ।

उनका अनुसार समितिको सिफारिसबमोजिम प्रदेशमा रहेको ७ वटा निर्देशनालयलाई २ वटामा सीमित राख्ने र ५ वटा खारेज गर्ने निर्णय गरेको हो । बैठकले हाल कायम रहेका कर्मचारी दरबन्दीमध्ये ७०१ जना कर्मचारी कटौती गर्ने सिफारिसलाई सरकारमा सहभागी २ दलको आपसी छलफल गरी पारित गर्नतर्फ आग्रह गर्ने निर्णय गरेको उनले बताए । 

बैठकले आगामी एक हप्ताभित्र प्रदेशसभा बैठक सञ्चालन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ भने बागमती प्रदेश सभा सभामुख पदमा नेपाली कांग्रेसले दाबी गर्ने निर्णय गरेको छ । बैठकले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सहमहामन्त्री बहादुरसिंह लामालाई बधाई तथा शुभकामना व्यक्त गर्ने, कांग्रेसभित्रको आन्तरिक समस्यालाई आपसी सहमति र संवादमार्फत छिट्टै समाधानतर्फ अगाडि बढी पार्टीलाई १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशनको सन्देश दिनलाई दुवै पक्षलाई आग्रह गर्ने निर्णय गरेको छ । 

बैठकले प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङका पिता श्रीमान् तामाङ, पूर्वमन्त्री तीर्थ लामाका पिता केशरबहादुर तामाङ र प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठकी पति रामेश्वर श्रेष्ठको निधनप्रति समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट