Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

झुटो अनुभव देखाएर ९ वर्षसम्म सरकारी सुविधा लिने कम्पनी सचिवविरुद्ध मुद्दा दायर

झुटो अनुभव देखाएर ९ वर्षसम्म सरकारी सुविधा लिने कम्पनी सचिवविरुद्ध मुद्दा दायर

काठमाडौँ : राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कम्पनी सचिव राजेश पोख्रेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पोख्रेलले झुट्टा तथा नक्कली कार्य अनुभवको प्रमाणपत्र पेस गरी सरकारी सेवाको ओहोदा प्राप्त गरेको र करोडौँ बराबरको सुविधा लिएको पुष्टि भएपछि आयोगले चैत १७ गते आरोपपत्र दायर गरेको हो। अनुसन्धानका क्रममा पोख्रेलले २०७३ सालमा कम्पनी सचिव पदमा नियुक्त हुनका लागि गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडमा वरिष्ठ अधिकृतका रूपमा काम गरेको नक्कली अनुभव पत्र बनाएको भेटिएको छ। सम्बन्धित हाइड्रोपावर कम्पनीले पोख्रेल आफ्नो कार्यालयमा कहिल्यै कार्यरत नरहेको र उनले पेस गरेको प्रमाणपत्रको कुनै रेकर्ड नभएको जानकारी अख्तियारलाई दिएको थियो।

सोही झुटो विवरणका आधारमा उनले २०७३ फागुन १० गतेदेखि सेवा करारमा नियुक्ति पाएका थिए। पोख्रेलले झन्डै ९ वर्षको अवधिमा तलब, भत्ता र अन्य सुविधामार्फत कुल १ करोड ७ लाख १ हजार ५ सय ८४ रुपैयाँ बराबरको लाभ लिएको अख्तियारले जनाएको छ। सार्वजनिक निकायको जिम्मेवार पद पाउन नक्कली कागजात पेस गर्ने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर भएको ठहर गर्दै आयोगले उनलाई कैद र जरिवानाको सजाय मागदाबी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट