काठमाडौँ : नेपाली कांग्रेसमा गत पुसमा शीर्ष नेतृत्वको सहमतिविना विशेष महाधिवेशन गरिएपछि सुरु भएको विवाद उत्कर्षमा पुगेको छ ।
पुस २७ देखि ३० गतेसम्म पार्टीको १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूह र त्यो महाधिवेशनमा सभापतिमा निकटतम प्रतिद्वन्द्वी भएका नेता डा. शेखर कोइराला समूहको असहमतिबिच तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भएको थियो ।
त्यसबाट गगन थापा सभापति, विश्वप्रकाश शर्मा उपसभापतिसहित केन्द्रीय कार्यसमिति चयन भएपछि देउवा–डा.कोइराला समूह निर्वाचन आयोगमा पुग्यो तर आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दियो । त्यसविरुद्ध देउवा कोइराला समूहले सर्वोच्च अदालतमा दायर गरेको रिट अझै विचाराधीन भएको बेलामा विवाद उत्कर्षमा पुगेको हो ।
गत शनिबार बिहान गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेलामा गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेसमा समानान्तर गतिविधि सुरु भए, जसले विवाद चरमोत्कर्षमा पुर्याएको छ ।
देउवा समूहका नेता लेखक पक्राउ परेको विरोधमा विशेष महाधिवेशनपछिको संस्थापनले विरोध नगरेको भन्दै देउवा–डा. कोइराला समूहका नेताहरू बसेर विज्ञप्ति निकाले । विज्ञप्तिमा पूर्णबहादुर खड्काले हस्ताक्षर गरेका थिए भने पद कार्यवाहक सभापति राखेका थिए । खड्काले पार्टीकै लेटर प्याड प्रयोग गरे ।
विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएपछि पहिलोपटक कार्यवाहक सभापतिको नाममा खड्काले विज्ञप्ति जारी गरेका हुन् । तर, निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि पनि कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेको भन्दै संस्थापनले विरोध गरिरहेको छ ।
शनिबार समानान्तर विज्ञप्ति निकालेको देउवा–डा.कोइराला समूहले सोमबार गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचन र गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित पार्टीका सांसदहरूलाई महाराजगञ्जस्थित होटल स्मार्टमा बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम राख्यो । मंगलबार बिहान ११ बजे त्यही होटलमा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ । चैत १९ गते उनीहरूले पार्टीका जिल्ला सभापतिहरूको भेला बोलाएका छन् ।
यता, संस्थापनले विधान विपरीतका गतिविधि गरेको भन्दै कारबाही गर्ने चेतावनीस्वरुप अनुशासन समिति बैठक आह्वान गरेको छ । केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले चैत १५ गते नै बुधबार दिउँसो १ बजेका लागि केन्द्रीय अनुशासन समितिको बैठक बोलाएका हुन् ।
लेखक पक्राउलाई संस्थापन र देउवा–डा.कोइराला समूहबिच हेर्ने दृष्टिकोण पनि फरक–फरक देखिएको छ । संस्थापन नरम र देउवा–डा.कोइराला समूह गरम देखिएका छन् ।
सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा खड्काले आगामी दिनमा आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रूपमा सामना गर्न पार्टीका नेता–कार्यकर्ताहरूलाई तयार रहन आग्रह गरेपछि उनीहरू अन्तिम लडाइमा रहेको देखिन्छ । निवर्तमान सभापति देउवा र नेता डा.कोइरालानिकट शीर्ष नेता सहभागी कार्यक्रममा प्रतिनिधिसभाका ११ र राष्ट्रियसभामा कांग्रेसबाट जति जितेका थिए, सबै सांसद सहभागी थिए ।
नेता डा. कोइरालाले कार्यक्रममा पार्टीमा छुट्टै भेला गर्ने परम्परा पहिलादेखि नै चल्दै आइरहेको बताए । ‘यो सबै कुरा हामी नेपाली कांग्रेसका साथीहरूले गरिराखेकै कुरा हो, अहिले पनि गरिराखेका हुन्छौँ,’ डा.कोइरालाले भने, ‘तपाईँहरूसँग सधैँ यस्तो भेटघाट भइरहन्छ ।’
यता संस्थापनले भने विधानविपरीत गतिविधि गरेपछि खड्काको क्रियाशील सदस्यता नवीकरणबारे अनौपचारिक छलफल गरिरहेको छ । समानान्तर गतिविधि जारी राखे उनलाई कारबाही गर्नका लागि अनुशासन समिति बैठक बोलाइएको नेताहरू बताउँछन् ।
त्यसलाई ‘च्यालेन्ज’ दिन खड्काले कार्यवाहक सभापतिको हैसियतमा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन् । निवर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेताहरूलाई टेलिफोन गरिरहेका छन् ।
यसले पार्टी कतै फुटको सङ्घारमा पुगेको त होइन भन्दै नेताहरू चिन्तामा छन् । यसै मेलोमा महामन्त्री प्रदीप पौडेलले मंगलबार बिहान सामाजिक सञ्जालमा एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका छन् । अहिलेको प्रतिकुलतामा छिन्नभिन्न भएर पार्टी बिग्रन नहुने पौडेलको भनाइ थियो ।
‘अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न,’ उनले भने, ‘म पार्टी महामन्त्री मात्र नभै एक इमानदार कार्यकर्ता भएर भन्दै छु– हामी सबै एकजुट होऔँ !’ महामन्त्री पौडेलले ‘एकताको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौँ’ भन्ने पनि उल्लेख गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij