चितवन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन जिल्ला कमिटीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउप्रति आपत्ति जनाउँदै उच्चस्तरीय छानबिन आयोग गठन गरी उनीहरूको तत्काल रिहाइ गर्न माग गरेको छ। आइतबार चितवन जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग दोहोर्याइएको छ। पार्टीका अनुसार प्रारम्भमा शान्तिपूर्ण रूपमा सुरु भएको ‘जेनजी पुस्ता’को आन्दोलन पछि आपराधिक समूहले नियन्त्रण लिँदा विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी र तोडफोडका घटना भएका थिए।
एमाले चितवनले ती घटनाको छानबिनका लागि तत्कालीन समयमा गौरीबहादुर कार्की को अध्यक्षतामा गठन गरिएको आयोगलाई पूर्वाग्रही भएको आरोप लगाउँदै खारेज गर्नुपर्ने माग गरेको छ। उक्त आयोगले पर्याप्त प्रमाणविनै पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक तथा तत्कालीन प्रहरी प्रमुखमाथि कारबाही सिफारिस गरेको आरोप पार्टीले लगाएको छ।
ज्ञापनपत्रमा एउटै घटनामा राजनीतिक नेतृत्वलाई कारबाही सिफारिस गर्ने तर सुरक्षा निकायको भूमिकाबारे मौन रहने कार्य ‘विधिको शासन विपरीत’ भएको उल्लेख गरिएको छ। साथै नयाँ प्रधानमन्त्रीले शपथ लिएको राति नै योजनाबद्ध रूपमा पक्राउ प्रक्रिया अघि बढाइएको भन्दै त्यसको आलोचना गरिएको छ।
एमाले चितवनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा नयाँ उच्चस्तरीय छानबिन आयोग गठन गर्न तथा पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij