काठमाडाैं : गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रिया सहज बनाएको छ। अब सेवाग्राहीहरूले प्रारम्भिक विवरण दर्ता गर्न छुट्टै आवेदन फाराम भर्नु नपर्ने भएको छ। उनीहरूले सिधै बायोमेट्रिक विवरण दिन सक्ने व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ।
केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तर–आबद्धता भएपछि यस्तो सुविधा सुरु गरिएको हो। यसले सेवा प्रक्रियालाई छिटो, सरल र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
आइतबार गृहमन्त्री ओमप्रकाश अर्याल ले ललितपुरस्थित जिल्ला प्रशासन कार्यालयको निरीक्षण गर्दै दोहोरो प्रक्रिया हटाएर सेवा प्रवाह सुधार गर्ने नीति अघि बढाइएको बताए।
मन्त्रालयका अनुसार नयाँ व्यवस्थाले सेवाग्राहीलाई समय र खर्च दुवैमा बचत हुने तथा सुशासन प्रवर्द्धनमा सहयोग पुग्नेछ। हाल दैनिक ६ देखि ८ हजारसम्म राष्ट्रिय परिचयपत्र तयार हुने गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij