Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

क्युबामा एक हप्तामै दोस्रो राष्ट्रव्यापी विद्युत् अवरोध

क्युबामा एक हप्तामै दोस्रो राष्ट्रव्यापी विद्युत् अवरोध

हवाना : क्यारिबियन क्षेत्रको देश क्युबा एकपटक फेरि पूर्ण अन्धकारमा डुबेको छ । शनिबार साँझ क्युबाको ऊर्जा मन्त्रालयले देशभरको राष्ट्रिय विद्युत् प्रणाली पूर्ण रूपमा विच्छेद भएको घोषणा गर्दै पुनः स्थापनाको प्रक्रिया सुरु गरिएको जनाएको छ ।

यस घटनाले करिब एक करोडभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । यो ब्ल्याक आउट एक हप्ताभित्रै दोस्रो ठुलो सङ्कट हो । यसअघि पनि सोमबार देशभर विद्युत् आपूर्ति ठप्प भएको थियो, जसबाट देश अझै पूर्ण रूपमा पुनः स्थापित हुन सकेको थिएन ।

लगातार भइरहेका यस्ता अवरोधहरूले क्युबाको ऊर्जा संरचना कति कमजोर अवस्थामा पुगेको छ भन्ने स्पष्ट सङ्केत दिएका छन् । ऊर्जा सङ्कटको मुख्य कारण इन्धनको अभाव र जीर्ण विद्युत् पूर्वाधार मानिएको छ । विशेषगरी भेनेजुएलाबाट आउने तेल आपूर्ति अमेरिकाको प्रतिबन्धका कारण प्रभावित भएपछि अवस्था अझ जटिल बनेको छ । शनिबारको पछिल्लो अवरोध विद्युत् उत्पादन केन्द्रमा आएको खराबीबाट सुरु भएर सम्पूर्ण राष्ट्रिय ग्रिडमा फैलिएको बताइएको छ ।
 
यसका कारण देशभर जनजीवन अस्तव्यस्त बनेको छ । अस्पतालमा सेवा प्रभावित भएका छन्, खाद्यान्न भण्डारणमा समस्या आएको छ र सर्वसाधारण दैनिक जीवन चलाउन टर्च र आपत्कालीन बत्तीमा निर्भर हुन बाध्य भएका छन् । राजधानी हवानासहित धेरै सहरमा पूर्ण अन्धकारको अवस्था देखिएको छ । यसबिच अमेरिका र क्युबाबिचको राजनीतिक तनाव पनि चुलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाको सरकारबारे  विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले  क्युबाको सरकार  छिट्टै पतन हुने दाबी गरेका छन् ।

यता क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेलले सम्भावित बाह्य आक्रमणको चेतावनी दिँदै देश तयारी अवस्थामा रहेको बताएका छन् । दुवै देशबिच इन्धन प्रतिबन्ध अन्त्य गर्न संवाद भइरहे पनि क्युबाले आफ्नो राजनीतिक प्रणालीमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ । लगातार दोहोरिँदै गइरहेको विद्युत् सङ्कटले क्युबामा आर्थिक र मानवीय अवस्था थप जटिल बन्ने सङ्केत देखिएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij