Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नवनिर्वाचित सांसद अभिमुखिकरणमा बालेन शाह अनुपस्थित, पार्टीमा चर्चा

नवनिर्वाचित सांसद अभिमुखिकरणमा बालेन शाह अनुपस्थित, पार्टीमा चर्चा

काठमाडौँ : भर्खर सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठन प्रक्रियामा व्यस्त देखिएको छ। पार्टी स्थापना भएको तीन वर्षको अवधिमा परम्परागत राजनीतिक दललाई प्रतिस्पर्धा गर्दै शक्तिशाली सरकार बनाउने प्रयास भइरहे पनि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच शक्ति संघर्षको चर्चा उठ्न थालेको छ।

पार्टीले ललितपुरस्थित ग्वार्कोमा दुई दिने आवासीय अभिमुखिकरण कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण, जनप्रतिनिधिको भूमिका र पार्टीको रणनीति तथा नीतिगत प्राथमिकताबारे प्रशिक्षण दिनुपर्ने उद्देश्य राखिएको थियो। तर कार्यक्रमको कार्यसूचीमा सभापति रवि लामिछानेको नाम उल्लेख भए पनि बालेन शाहको नाम राखिएको थिएन।

समापन समारोहमा सभापति रवि मात्र उपस्थित भए। उनले आफ्नो मन्तव्यमा गुट बनाएर एमाले र कांग्रेसलाई जित्न नसकिने चेतावनी दिँदै, पार्टीभित्र विभिन्न स्वार्थ समूह सक्रिय हुन सक्ने भन्दै सर्तक रहन आग्रह गरे। उनले पार्टीमा व्यक्ति केन्द्रित राजनीतिबाट बाहिर निस्कनुपर्ने र जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए।

कार्यक्रममा अनुपस्थित वरिष्ठ नेता बालेन शाहको कारणलाई प्रवक्ता मनिष झाले स्वास्थ्य कारणले सहभागी नभएको स्पष्ट गरे। सचिवालय सदस्य गणेश पराजुलीले पनि स्वास्थ्य समस्याको कारण सहभागी नभएको उल्लेख गरे। सहमहामन्त्री विपिन कुमार आचार्यले रवि र बालेनबीच कुनै दरार नभएको दाबी गरे।

विश्लेषक प्राध्यापक कृष्ण पोखरेलका अनुसार पार्टी र सरकारबीचको सम्बन्ध व्यवस्थापनमा असफल हुँदा परम्परागत राजनीतिक दलहरू विगतमा संकटमा परेको उदाहरणले रास्वपा नेतृत्वलाई सतर्क बनाउँछ। रास्वपा विभिन्न स्वार्थ समूहको मिश्रण भएको पार्टी भएकाले नेतृत्वले यसको समन्वय गर्न सफल भए मात्र सरकारको स्थायित्व सुनिश्चित हुन सक्ने उनी बताउँछन्।

स्थापना कालमा सानो टिमबाट सुरु भएको रास्वपा अहिले विवेकशील साझा, बालेन समूह, थरुहट/थारुवान र विभिन्न जेनजी समूहसँग एकता गरी विशाल पार्टी बनेको छ। निर्वाचनमा ११ लाख ३० हजार बढी लोकप्रिय मतसहित २१ सिट जितेर पार्टीले राजनीतिक मुख्यधारामा आफ्नो उपस्थिति सुनिश्चित गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट