गण्डकी : तनहुँको ऐतिहासिक बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना हुने भएको छ। यो कार्यक्रम नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको सह–आयोजनामा सम्पन्न हुन लागेको हो।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले जानकारी दिए अनुसार, गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आगामी वैशाख १८ र १९ गते यो मार्ट आयोजना गर्न लागिएको हो।
पोखरा पर्यटन परिषद्, होमस्टे महासङ्घ नेपाल, गण्डकी प्रदेश लगायत पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा हुने यस मार्टमा गण्डकी प्रदेशका सामुदायिक घरबास (होमस्टे), पर्यटकीय कृषि फार्म (फार्म स्टे) लगायत विभिन्न ३० वटा होमस्टे कक्षहरू रहने जानकारी दिइएको छ।
यसअघि यो मार्टका तीन संस्करण पोखरामा सम्पन्न भएका थिए, तर यसपटक ऐतिहासिक बन्दीपुरमा आयोजना गर्न लागिएको छ। मार्ट मार्फत भिजिट मधेस २०८३, पोखरा भ्रमण वर्ष लगायतका पर्यटन प्रवर्द्धन कार्यक्रमलाई समेत समेट्न खोजिएको बताइएको छ।
नेपाल पर्यटन बोर्डले ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय आर्थिक विकास र सांस्कृतिक संरक्षणमा योगदान पुर्याउने उद्देश्य राखेको छ। यसमार्फत बन्दीपुरका स्थानीय व्यवसायी र होमस्टे संचालकले आफ्नो सेवा, संस्कृति र उत्पादनलाई देश–विदेशका पर्यटकसँग प्रत्यक्ष प्रस्तुत गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij