Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पटिहानी–बेलसहर–दुधौरा क्षेत्रमा जिप सफारी सञ्चालनमा

पटिहानी–बेलसहर–दुधौरा क्षेत्रमा जिप सफारी सञ्चालनमा

 चितवन : चितवन निकुञ्जको पहिटानी मध्यवर्ती उपभोक्ता समिति र बेलसहर मध्यवर्ती सामुदायिक वनले यो सेवा सञ्चालन गरेका हुन् ।

पटिहानीको घट्गाईदेखि पूर्व बेलसहर वन हुँदै दुधौरासम्म आइतबारदेखि पर्यटकीय जिप सफारी सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती र वन क्षेत्र समेटेर जिप सफारी सुरु भएको हो । निकुञ्जको पहिटानी मध्यवर्ती उपभोक्ता समिति र बेलसहर मध्यवर्ती सामुदायिक वनले यो सेवा सञ्चालन गरेका हुन् ।

घट्गाई बेलसहर दुधौरा जिप सफारी सञ्चालक समितिका संयोजक रहेका पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष साजन महतोले पटिहानीमा पछिल्लो समय पर्यटकीय गतिविधि राम्रो हुँदै गएको बताए । उनले यहाँ आउने पर्यटकलाई सेवा दिन र संरक्षणको लाभ समुदायमा पुर्‍याउन सफारी सुरु गरेको बताए । पटिहानीबाट २०७४ पुसमा पनि जिप सफारी सुरु भएको थियो ।

लामो समय नचलेको जिप सफारीको त्यो बेलाका कमजोरी सुधार गरेर नयाँ ढंगले काम अगाडि बढाएको महतोले बताए । पटिहानी घट्गाई क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरानजिकै पर्छ । यहाँ विदेशी पर्यटक आएर बस्ने स्तरीय होटल, रिसोर्ट ४० को दशकमै खुलेका थिए । पछिल्ला वर्षमा यहाँ थप स्तरीय होटल विस्तार हुँदै गएका छन् । यहाँ विदेशी पर्यटक धेरै आउने गरेका छन् ।

निकुञ्जको आडमा रहेको राप्ती नदीको किनार हुँदै मध्यवर्ती वनमा जिप सफारी गर्दा गैंडा, चित्तल जस्ता जनावर र राप्तीमा घडियाल, विभिन्न चरा र बाघ पनि देख्न सकिने महतोले बताए । सफारीको जिप जंगल क्षेत्र हुँदै अगाडि बढ्छ । कुनै ठाउँमा रोकेर नदी किनारको दृश्य हेर्न सकिने सुविधा पनि पर्यटकलाई छ । झण्डै १२ किलोमिटर दुरीमा दुई घण्टा सफारी गर्न सकिने महतोले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij