Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनमा तोरी उत्पादन घट्यो, प्रतिहेक्टर उत्पादकत्वमा कमी

चितवनमा तोरी उत्पादन घट्यो, प्रतिहेक्टर उत्पादकत्वमा कमी

चितवन  : चितवन जिल्लामा यस वर्ष तोरीको उत्पादन घटेको छ। गत वर्षको तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत उल्लेखनीय कमी आएको कृषि क्षेत्रका अधिकारीहरूले बताएका छन्।

कृषि विकास कार्यालय चितवन का कृषि अर्थविज्ञ निर्मल पौडेल का अनुसार गत वर्ष प्रतिहेक्टर १.३१ मेट्रिक टन उत्पादकत्व रहेको तोरी यस वर्ष घटेर १.०१ मेट्रिक टनमा झरेको छ। गत वर्ष जिल्लामा १८ हजार ५६५ मेट्रिक टन तोरी उत्पादन भएकामा यस वर्ष उत्पादन घटेर १४ हजार ३१५ मेट्रिक टनमा सीमित भएको उनले जानकारी दिए।

चितवन जिल्लामा करिब १४ हजार १७३ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिँदै आएको छ। उनका अनुसार तोरी उत्पादन घट्नुको प्रमुख कारण बेमौसमी वर्षा भएको हो। बाली लगाइसकेपछि परेको असामयिक वर्षाले किसानलाई दोस्रोपटक तोरी लगाउनुपर्ने बाध्यता समेत सिर्जना गरेको थियो।

त्यसैगरी फूल फुल्ने समयमा बाक्लो हुस्सु लाग्नु र तुसारो पर्नुका कारण पनि तोरीको उत्पादनमा असर परेको कृषि प्राविधिकहरू बताउँछन्। यसले बोटको वृद्धि तथा दानाको विकासमा नकारात्मक प्रभाव पार्दा उत्पादन घटेको हो।

चितवन जिल्लालाई तोरी उत्पादनका लागि महत्वपूर्ण क्षेत्रका रूपमा लिइँदै आएको छ। पछिल्ला वर्षहरूमा नगदे बालीप्रति किसानको आकर्षण बढ्दै गएसँगै तोरी खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ। विशेषगरी जङ्गली जनावरले तोरी बालीमा कम क्षति पुर्‍याउने भएकाले पनि किसानहरू यसतर्फ आकर्षित भएको कृषि विज्ञ पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट