Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि पोखरी निर्माण र मर्मत सुरु

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि पोखरी निर्माण र मर्मत सुरु

चितवन : चितवन राष्ट्रिय निकुञ्ज ले आफ्नो क्षेत्रभित्र वन्यजन्तुको पानीको आवश्यकता पूरा गर्न पोखरी निर्माण तथा मर्मतको काम सुरु गरेको छ। हरेक वर्ष गर्मी मौसम सुरु हुनुअघि वन्यजन्तुका लागि पानीको व्यवस्था सुनिश्चित गर्न निकुञ्जले पोखरी निर्माण र मर्मत गर्ने गरेको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगर का अनुसार जनावरलाई पानी उपलब्ध गराउने, जलचर जनावरका लागि वासस्थान तयार गर्ने तथा घाँसेमैदान सिँचाइका लागि पोखरी निर्माण गरिने गरिएको छ। उनले यस वर्ष तीन वटा नयाँ पोखरी निर्माण गर्ने र चार वटा पुराना पोखरी मर्मत गर्ने योजना रहेको जानकारी दिए।

उनले वन्यजन्तुको बासस्थान र आवागमन हुने स्थानलाई आधार मानेर पोखरी निर्माण तथा मर्मतको काम गरिने बताए। निकुञ्जभित्र हाल ५६ वटा पोखरी तथा तालतलैया रहेका छन्। ती सबै पोखरी तथा तालहरूमा एकैपटक सरसफाइ गर्न नसकिने भएकाले विशेष महत्वका स्थानमा रहेका पोखरी तथा तालहरूको निर्माण र मर्मतलाई प्राथमिकता दिइएको उनले बताए।

निकुञ्ज प्रशासनका अनुसार गर्मी मौसममा पानीको अभाव नहोस् र वन्यजन्तु पानीको खोजीमा समुदाय बस्ती तर्फ नजाऊन् भन्ने उद्देश्यले पनि पोखरी निर्माण तथा सुधारको काम सुरु गरिएको हो।

चितवन राष्ट्रिय निकुञ्ज मा एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, चित्तल र हात्ती लगायतका दुर्लभ तथा महत्वपूर्ण वन्यजन्तु बसोबास गर्दै आएका छन्।

९५२ दशमलव ६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज क्षेत्रमा घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउने कामसमेत सुरु गरिएको छ। यसले घाँस पुनः उत्पादनमा सहयोग पुग्ने र वन्यजन्तुका लागि उपयुक्त बासस्थान तयार गर्न मद्दत गर्ने निकुञ्ज प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट