Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

काठमाडौँमा चैत १५ देखि ४० दिने बृहत् पाशुपत पदयात्रा सुरु हुने

काठमाडौँमा चैत १५ देखि ४० दिने बृहत् पाशुपत पदयात्रा सुरु हुने

काठमाडौँ  : पशुपतिनाथ मन्दिर को प्रचार–प्रसार गर्दै आध्यात्मिक पर्यटन विस्तार गर्ने उद्देश्यले काठमाडौँमा बृहत् पाशुपत पदयात्रा आयोजना हुने भएको छ।

स्वामी रमणानन्द गिरी को संकल्पमा उक्त पदयात्रा आयोजना गर्न लागिएको हो। शनिबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा चैत १५ गतेदेखि ४० दिनसम्म चल्ने राष्ट्रव्यापी बृहत् पाशुपत परिक्रमा (६४ सिद्धस्थल पैदलयात्रा) सञ्चालन गरिने जानकारी दिइएको छ।

चैत १५ गते पशुपति शंकराचार्यमठमा समुद्घाटन, पशुपति पूजन तथा वाग्मती गंगाको विशेष आरती गरिनेछ भने चैत १६ गतेबाट पशुपति क्षेत्रबाट पदयात्रा औपचारिक रूपमा सुरु गरिनेछ। स्वामी रमणानन्द गिरीका अनुसार पशुपतिनाथ, पाशुपत क्षेत्र तथा बाग्मती नदी को धार्मिक र सांस्कृतिक महत्त्वबारे जनचेतना जगाउने पदयात्राको मुख्य उद्देश्य रहेको छ।

उनले बाग्मती नदी प्रदूषणप्रति क्षमायाचना तथा प्रायश्चितस्वरूप पनि पदयात्रा आयोजना गरिएको बताए।

पदयात्राका संयोजक पण्डित कपिलदेव सुवेदी का अनुसार ६४ शिवलिङ्गको यस्तो यात्रा प्रताप मल्लको समयपछि पहिलोपटक आयोजना गर्न लागिएको हो। समितिका सचिव श्यामकृष्ण सुवेदी ले पदयात्राका क्रममा काठमाडौँ वरपरका १० जिल्लाबाट तीन पटक पशुपतिनाथको परिक्रमा गरिने जानकारी दिए।

पदयात्रा चैत १६ गते पशुपति क्षेत्रबाट सुरु भई सिन्धुलीको कुशेश्वर महादेवबाट प्रारम्भिक दर्शन गरी दोलखाको भीमसेन मन्दिरसम्म पुग्नेछ। त्यसपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुरलगायत क्षेत्रमा रहेका महादेवका सिद्धस्थलहरूको दर्शन गर्दै पैदल यात्रा गरिनेछ।

आयोजकका अनुसार नेपाल, भारत र बर्माबाट साधुसन्त, धर्माचार्य तथा श्रद्धालुहरू सहभागी हुने अपेक्षा गरिएको छ। करिब ३५ देखि ४० दिनको अवधिमा बाग्मती प्रदेशका १० जिल्लामा रहेका ६४ सिद्धलिङ्गको दर्शन तथा अनुसन्धान गरिने बताइएको छ।

आयोजक समितिले पदयात्रा पुग्ने क्षेत्रका स्थानीय संघसंस्था तथा सर्वसाधारणलाई पदयात्री, साधु–महात्मा र भक्तजनहरूको स्वागत, बसोबास तथा व्यवस्थापनमा सहयोग गर्न अपिल गरेको छ। साथै देशभरका श्रद्धालुहरूलाई आफ्नो अनुकूलता अनुसार पूर्ण वा आंशिक रूपमा सहभागी भई आध्यात्मिक अभियान सफल बनाउन आग्रह गरिएको छ।

यी हुन् ६४ सिद्धलिंग

१. कुशेश्वर महादेव, दुम्जा, सिन्धुली २. भीमेश्वर महादेव, दोलखा ३. काफीश्वर महादेव, बाह्रबिसे, सिन्धुपाल्चोक ४. कश्यपेश्वर महादेव, मण्डन, काभ्रेपलाञ्चोक ५. स्फटिकेश्वर महादेव, फटकशिला, सिन्धुपाल्चोक ६. चण्डेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक ७. धनेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक ८. विकटेश्वर महादेव, साँगा, काभ्रेपलाञ्चोक ९. इन्द्रेश्वर महादेव, पनौती, काभ्रेपलाञ्चोक १०. भालेश्वर महादेव, रोसी, काभ्रेपलाञ्चोक ११. गुप्तेश्वर महादेव, भारदेउ, ललितपुर १२. तिलेश्वर महादेव, लेले, ललितपुर १३. चम्पकेश्वर महादेव, लेले, ललितपुर १४. रामेश्वर महादेव, टीकाभैरव, ललितपुर १५. कालेश्वर महादेव, गोटीखेल, ललितपुर १६. नटारम्भेश्वर महादेव, ठिङ्गन, मकवानपुर १७. उद्दालकेश्वर महादेव, छैमले, काठमाडौँ १८. गोपालेश्वर महादेव, फर्पिङ, काठमाडौँ १९. चम्पेश्वर महादेव, विसखेल, मकवानपुर २०. उन्मत्तेश्वर महादेव, टिष्टुङ, मकवानपुर २१. नन्दिकेश्वर महादेव, टिस्टुङ, मकवानपुर २२. गोखुरेश्वर महादेव, कुन्छाल, मकवानपुर २३. पाण्डुकेश्वर महादेव, पालुङ, मकवानपुर २४. कूटेश्वर महादेव, महादेवखर्क, मकवानपुर २५. असितेश्वर महादेव, अम्लेश्वर, धादिङ २६. भैरवेश्वर महादेव, देवीघाट, नुवाकोट २७. ब्रह्मेश्वर महादेव, कविलास, नुवाकोट २८. कार्तिकेश्वर महादेव, कविलास, नुवाकोट २९. शतरुद्रेश्वर महादेव, शिवपुरी, काठमाडौँ ३०. काकेश्वर महादेव, गागलफेदी, काठमाडौँ ३१. मणिचूडेश्वर महादेव, मणिचूड पर्वत, काठमाडौँ ३२. योगेश्वर महादेव, बज्रयोगिनी, काठमाडौँ ३३. नारायणेश्वर महादेव, लप्सीफेदी, काठमाडौँ ३४. ज्योतिर्लिङ्गेश्वर, साँखु, काठमाडौँ ३५. रत्नचूडेश्वर महादेव, नगरकोट, भक्तपुर ३६. वागीश्वर महादेव, वागीश्वर, भक्तपुर ३७. कीलेश्वर महादेव, चाँगुनारायण, भक्तपुर ३८. वाल्मीकेश्वर महादेव, भक्तपुर ३९. मङ्गलेश्वर महादेव, उलाछें, भक्तपुर ४०. विमलेश्वर महादेव सिपाडोल, भक्तपुर ४१. अनन्तलिङ्गेश्वर महादेव, भक्तपुर ४२. विश्वरूपेश्वर महादेव, भक्तपुर ४३. सोमेश्वर महादेव, गुण्डुखोला, भक्तपुर ४४. गोभराटेश्वर महादेव, लुभु, ललितपुर ४५. भृङ्गेश्वर महादेव, सुनाकोठी ललितपुर ४६. त्रिलिङ्गेश्वर महादेव, पाटन, ललितपुर ४७. कुपितेश्वर महादेव, पाटन, ललितपुर ४८. सर्वेश्वर महादेव, पाटन, ललितपुर ४९. गोलोकेश्वर महादेव, नैकाप, काठमाडौँ ५०. चन्दनभराटेश्वर महादेव, थानकोट, काठमाडौँ ५१. यक्षेश्वर महादेव, सीतापाइला, काठमाडौँ ५२. चण्डिकेश्वर महादेव, टोखा, काठमाडौँ ५३. धर्मेश्वर महादेव, टोखा, काठमाडौँ ५४. गोकर्णेश्वर महादेव, गोकर्ण, काठमाडौँ ५५. कोटीश्वर महादेव, कोटेश्वर, काठमाडौँ ५६. वाणेश्वर महादेव, बानेश्वर, काठमाडौँ ५७. ज्ञानेश्वर महादेव, ज्ञानेश्वर, काठमाडौँ ५८. पर्वतेश्वर महादेव, पशुपति, काठमाडौँ ५९. जलेश्वर महादेव, पशुपति, काठमाडौँ ६०. गुह्येश्वर महादेव, गुल्येश्वरी, काठमाडौँ ६१. किरातेश्वर महादेव, मृगस्थली, काठमाडौँ ६२. भस्मेश्वर महादेव, पशुपति, काठमाडौँ ६३. भुवनेश्वर महादेव, पशुपति, काठमाडौँ ६४. रुद्रागारेश्वर महादेव, पशुपति, काठमाडौँ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट