Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपाको सरकार गठन गृहकार्य तीव्र, अर्थ मन्त्रालय कसको हातमा ?

रास्वपाको सरकार गठन गृहकार्य तीव्र, अर्थ मन्त्रालय कसको हातमा ?

भक्तपुर : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभामा ठूलो दल बनेपछि नयाँ सरकार गठनको तयारीमा जुटेको छ। दुई तिहाइ नजिकको जनमत प्राप्त गरेपछि पार्टीभित्र सरकार निर्माणका विषयमा तीव्र गृहकार्य सुरु भएको छ।

पार्टी सभापति लामिछाने स्वास्थ्य समस्याका कारण केही दिनदेखि आराम गरिरहे पनि वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग निरन्तर छलफल भइरहेको बताइएको छ। यसअघि नै भएको सहमतिअनुसार लामिछाने पार्टी सभापति रहने र बालेन संसदीय दलको नेता तथा प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको छ। त्यसैले बालेनकै नेतृत्वमा नयाँ सरकार गठन हुनेमा खासै दुईमत देखिँदैन।

रास्वपाले सरकार गठनको तयारी अघि बढाइरहँदा नयाँ मन्त्रिपरिषद कस्तो बन्ने भन्ने विषयमा सर्वत्र चासो बढेको छ। विशेषगरी अर्थ मन्त्रालय कसको हातमा जाने भन्ने प्रश्न अहिले राजनीतिक वृत्तमा निकै चर्चामा रहेको छ।

अर्थमन्त्रीका लागि रास्वपाकै उपसभापति स्वर्णिम वाग्लेको नाम सबैभन्दा अगाडि रहेको छ। सभापति लामिछानेले निर्वाचनअघि नै सार्वजनिक कार्यक्रममा वाग्लेलाई भावी अर्थमन्त्रीका रूपमा अघि सारेका थिए। पार्टीभित्र पनि उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको बुझिएको छ।

यससँगै पार्टीको आन्तरिक सन्तुलन मिलाउन अर्का उपसभापति डीपी अर्याललाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी दिने सम्भावनाबारे पनि चर्चा भइरहेको छ। तनहुँ–१ बाट निर्वाचित वाग्ले अर्थ मन्त्रालय सम्हाल्ने तयारीमा रहेको बताइन्छ। यसरी हेर्दा बालेन नेतृत्वको सरकारको ढुकुटीको चाबी वाग्लेकै हातमा पुग्ने सम्भावना बलियो देखिएको छ।

यता हालका अर्थमन्त्री रामेश्वर खनालको नाम पनि एकाएक चर्चामा आएको छ। नयाँ सरकार गठनको तयारी भइरहेका बेला खनालले कूटनीतिक राहदानी तथा मन्त्रालयको इमेल आईडी समेत फिर्ता गरेको चर्चा छ। अर्थतन्त्र सुधारका लागि उनले गरेको कामको प्रशंसा भइरहेकाले उनलाई पुनः जिम्मेवारी दिन सकिने विषयमा पनि केही वृत्तमा छलफल भएको बताइन्छ।

संविधानअनुसार मन्त्री बन्नका लागि संघीय संसद सदस्य हुनुपर्ने वा मन्त्री नियुक्त भएको ६ महिनाभित्र सदस्य बन्नुपर्ने व्यवस्था छ। यसै सन्दर्भमा उनलाई राष्ट्रियसभामा लैजाने विकल्पबारे पनि चर्चा भइरहेको बताइन्छ। हाल राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभाको एक सिट खाली रहेको छ।

यसैबीच अर्थ मन्त्रालयका लागि अर्को नाम पनि चर्चामा आएको छ। त्यो नाम हो सुशान्त वैदिक। लन्डन स्कुल अफ इकोनोमिक्स र नर्वेबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका वैदिकलाई बालेनले नीतिगत र प्राविधिक क्षमतासम्पन्न अनुहारका रूपमा हेरेको स्रोतको दाबी छ। प्युठानबाट निर्वाचित उनी नयाँ पुस्ताका अर्थशास्त्रीका रूपमा चर्चामा छन्।

पार्टीभित्र विभिन्न नामको चर्चा भइरहे पनि अन्तिम निर्णय भने प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेनकै हातमा रहने देखिन्छ। उनले आफ्नो क्याबिनेटका सदस्यहरू आफैं चयन गर्ने संकेत दिएकाले अन्ततः अर्थ मन्त्रालयको जिम्मेवारी कसले पाउँछ भन्ने विषय अझै खुल्न बाँकी रहेको छ। नयाँ सरकार गठनसँगै देशको अर्थतन्त्र सम्हाल्ने जिम्मेवारी कसलाई दिइन्छ भन्ने चासो राजनीतिक वृत्तमा बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट