पाँचथर: कुनै समय पाँचथरको तुम्बेवा गाउँपालिका–१ ढुकुरे बस्ती घना र जीवित थियो, तर अहिले आधाभन्दा बढी घर खाली भइसकेका छन्। घर भत्किँदै छन् र खेतीयोग्य जमिन झाडीले ढाक्दै गएको छ।
ढुकुरे डाँडागाउँको गर्भवती आधारभूत विद्यालय नजिक कुनै बेला १३ परिवारको बसोबास थियो, तर अहिले केवल दुई परिवार मात्रै बाँचिरहेका छन्। यहाँबाट धरानसम्म तीन घण्टाको दूरी छ र विद्युत् सुविधा पनि छ, तर खानेपानीको अभावले मानिसहरू बसाइँ सर्न बाध्य भएका छन्।
स्थानीय सामाजिक कार्यकर्ता कमलबहादुर कार्कीका अनुसार, विसं २०७४ देखि वर्षा नहुँदा पानीको समस्या बढेको छ। पिउने पानीका मुहान सुक्दै गएको र बृहत् पम्पिङ खानेपानी आयोजनाले पनि सबै क्षेत्रमा पानी वितरण गर्न नसकेकोले अधिकांश परिवारले गाउँ छोड्न बाध्य भएका हुन्।
कार्कीले भने, “६० भन्दा बढी घर भएको ढुकुरेमा हाल २५ परिवार मात्र बाँकी छन्। आधाभन्दा बढी बसाइँ सरिसकेका छन्। सडक र विद्युत् सुविधा सहज भए पनि खानेपानी अभावले बस्न कठिन बनाएको छ।”
स्थानीयका अनुसार पानीको अभावले खेतीयोग्य जमिन पनि उपयुक्त उपयोग हुन नसक्दा आम्दानीको स्रोत सुक्दै गएको छ। आङ्ना मौवा बृहत् खानेपानी आयोजना निर्माण भएको भए पनि सञ्चालनमा समस्या रहेकाले पानी वितरण स्थिर हुन सकेको छैन।
ढुकुरेमा बस्ने कालुमानकी श्रीमती सरिता कार्कीले भने, “पहिले छरछिमेक थिए, दुःख–सुख बाँड्थ्यौँ। अहिले बाँझा घर हेरेर उदेक लाग्छ। दुःख भए पनि आफ्नै ठाउँको माया लाग्छ, त्यसैले छोड्न सकेका छैनौँ।”
स्थानीय प्रशासन र पानी उपभोक्ता समितिले समस्या समाधानको प्रयास गर्दै आएको उल्लेख भए पनि बजेट र संरचनाको कमीका कारण तत्काल सुधार सम्भव छैन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij