चितवन : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका चितवनका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम प्रदान गरी स्वरोजगार बनाउने पहल गरिएको छ। निर्वाचन सम्पन्न भएपछि उनीहरूलाई घर फर्काउने मात्र नभई भविष्यमा रोजगारीका अवसर सिर्जना गर्न विभिन्न निकायसँग सहकार्य गरी तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार निर्वाचनमा खटिएका प्रहरीको भविष्य सुरक्षित बनाउन यहाँको उद्योग सङ्घ, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र घरेलु तथा साना उद्योग कार्यालयसँग समन्वय गरी व्यावसायिक सीपमूलक तालिम उपलब्ध गराउने योजना बनाइएको छ।
उनका अनुसार तालिम कार्यक्रम दुई चरणमा सञ्चालन गरिनेछ। पहिलो चरणमा एक वर्षभित्र करिब १,२०० जना निर्वाचन प्रहरीलाई तालिम प्रदान गरिनेछ भने दोस्रो चरणमा बाँकीलाई समेटिनेछ। इच्छुक निर्वाचन प्रहरीलाई निःशुल्क रूपमा तालिम उपलब्ध गराउन समिति गठन गरी सोहीमार्फत कार्यक्रम सञ्चालन गरिने व्यवस्था मिलाइने उनले जानकारी दिए।
निर्वाचनका क्रममा उत्कृष्ट रूपमा जिम्मेवारी निर्वाह गर्दै निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका खेलेकामा निर्वाचन प्रहरीप्रति धन्यवाद व्यक्त गर्दै प्रजिअ अर्यालले भने, “चितवनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना भएर काम गरेका निर्वाचन प्रहरीलाई हामीले बिदाइ गरेका छौँ। उहाँहरूलाई घर मात्रै नपठाएर एउटा प्याकेजसहित बिदाइ गर्ने प्रयास गरेका हौँ, जसले उहाँहरूको भविष्यलाई पनि सहयोग पु¥याओस् भन्ने हाम्रो उद्देश्य हो।”
बिदाइ कार्यक्रमका क्रममा जिल्लामा रहेका सिटिइभिटीका कार्यालय प्रमुख, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तथा उद्योग सङ्घका अध्यक्षसहितको टोलीसँग छलफल गरी तालिम कार्यक्रम सञ्चालन गर्ने सहमति भएको उनले बताए। घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखको संयोजकत्वमा समिति गठन गरी इच्छुक निर्वाचन प्रहरीसँग सम्पर्क गरेर तालिम व्यवस्थापन गरिनेछ।
प्रजिअ अर्यालले निर्वाचन प्रहरीलाई सम्बोधन गर्दै भने, “यदि तपाईंहरू खाली बस्न चाहनुहुन्न भने सम्पर्कमा आउनुहोस्। निःशुल्क तालिमको व्यवस्था हुनेछ र सीप सिकेर स्वरोजगार बन्न सक्नुहुन्छ।”
उनले तालिम प्राप्त व्यक्तिहरू लामो समय बेरोजगार बस्नुपर्ने उदाहरण कम रहेको उल्लेख गर्दै इच्छुक निर्वाचन प्रहरीलाई सीपमूलक तालिम लिन आग्रह गरे। यसले उनीहरूलाई साना उद्योग, व्यवसाय वा अन्य रोजगारीका अवसर सिर्जना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
यस निर्वाचनमा चितवन जिल्लामा नेपाल प्रहरीतर्फ २,४४१ र सशस्त्र प्रहरी बलतर्फ ३२५ गरी कुल २,७६६ जना निर्वाचन प्रहरी परिचालन भएका थिए। निर्वाचन सम्पन्न भएसँगै उनीहरूलाई भविष्यमा उपयोगी सीप प्रदान गरेर स्वरोजगार बनाउने उद्देश्यले यो कार्यक्रम अगाडि बढाइएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij