Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित 'एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित 'एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

चितवन  : भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने प्रतिष्ठित एनएक्सटी सम्मीट २०२६ मा सम्मानित वक्ताको रूपमा आमन्त्रण गरिएको छ।

भारतीय संसदको राज्य सभाका सांसद कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै निमन्त्रणा गरेका हुन्। उक्त सम्मेलन मार्च १२, १३ र १४ मा नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजना हुँदैछ।

यो सम्मेलनलाई भारतमा वार्षिक क्यालेन्डर इभेन्टको रूपमा विकास गर्ने उद्देश्य राखिएको छ। यसले नीति, शिक्षा, व्यवसाय, राजनीति, विज्ञान तथा प्रविधिका क्षेत्रका विश्वस्तरीय विचारकहरूलाई एकै ठाउँमा ल्याउने लक्ष्य लिएको आयोजकहरूले बताएका छन्।

आयोजकका अनुसार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुने छन् भने अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन सम्मानित अतिथि रहने छन्।

अन्य प्रमुख वक्ताहरूमा रेल, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री अश्विनी वैष्णव, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डा. जितेन्द्र सिंह लगायतका व्यक्तित्वहरू सहभागी हुने छन्।

सम्मेलनमा ३० भन्दा बढी देशका सांसदहरू, हार्वर्ड, एमआईटी, बर्कली, अक्सफोर्ड, क्याम्ब्रिज, एलएसई, स्ट्यानफोर्ड लगायत विश्वका २५ उत्कृष्ट विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरू, विभिन्न देशका उपकुलपति तथा विशेषज्ञहरू सहभागी हुने अपेक्षा गरिएको छ।

यसैगरी एनएक्सटी इन साइन्स कार्यक्रम प्रसिद्ध भौतिकशास्त्री डा. ब्रायन ग्रीन (कोलम्बिया विश्वविद्यालय) सँगको सहकार्यमा आयोजना हुने बताइएको छ।

निमन्त्रणापत्रमा रेनु दाहालजस्ता नेताहरूको उपस्थितिले सम्मेलनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ। साथै, यस फोरमलाई आगामी वर्षहरूमा कसरी अझ प्रभावकारी बनाउने भन्ने विषयमा उनको सुझावसमेत मागिएको छ।

रेनु दाहाल भरतपुर महानगरपालिकाको दुई कार्यकाल मेयर रहिसकेकी छन् र हाल सक्रिय राजनीतिमा छन्। उनको यो निमन्त्रणालाई नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा प्राप्त मान्यताको रूपमा पनि हेरिएको छ।

एनएक्सटी सम्मीट भारतलाई विश्वस्तरीय संवाद मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको कार्यक्रम हो, जसमा नेपालबाट प्रतिनिधित्व हुनु गौरवको विषय मानिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट