चितवन: चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री वितरणलाई मजबुत बनाउन डेरीमार्टको संख्या बढाउँदै आएको छ। पहिलो डेरीमार्ट भरतपुर महानगरपालिका–१० दूरसञ्चार रोडमा सञ्चालनमा ल्याएको सङ्घले दोस्रो शाखा नारायणगढको बेलचोकमा पनि सञ्चालनमा ल्याएको छ।
सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार यस वर्षमा पाँच स्थानमा डेरीमार्ट सञ्चालनमा ल्याउने योजना अघि बढाइएको छ। सङ्घले आफैंले उत्पादन गरेका दुग्धजन्य पदार्थ जस्तै दूध, दही, घ्यू, पनिर बिक्री वितरण र बजारमा ल्याउन मार्ट सञ्चालनमा ल्याएको हो।
सकारात्मक प्रतिक्रिया पाएपछि शाखा थप गर्ने योजना अघि बढाइएको उनले बताए। डेरीमार्टले जिल्लामा उत्पादित दूधको बजारीकरण र किसानलाई समयमा भुक्तानी नपाउने समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
चितवनमा हाल ११५ वटा दुग्ध उत्पादक सहकारी सङ्घले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन गर्दै आएको छ। यहाँ उत्पादन हुने दूध स्थानीय बजारका साथै काठमाडौँ, पोखरा लगायत ठूला सहरमा पुर्याइन्छ। तर, किसानले करिब ५० करोड बराबरको दूधको भुक्तानी पाउन बाँकी रहेको छ। सहकारीले समयमै भुक्तानी सुनिश्चित गर्न आफैं उत्पादन प्रशोधन गरेर बजारमा ल्याउन थालेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij