Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा राष्ट्रिय बाघ गणना सुरु

शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा राष्ट्रिय बाघ गणना सुरु

कञ्चनपुर : कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि राष्ट्रिय बाघ गणना सुरु गरिएको छ।

निकुञ्जका संरक्षण अधिकृत **पुरुषोत्तम वाग्ले**का अनुसार क्यामेरा ट्रयापिङ विधिबाट बाघ गणना सुरु गरिएको हो। उनका अनुसार नेपालमा प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ गणना गरिँदै आएको छ। यसपटक उक्त कम्प्लेक्समा पाँचौँ पटक बाघ गणना गर्न लागिएको हो, जसका लागि १५ दिनसम्म सर्वेक्षण सञ्चालन गरिनेछ।

निकुञ्जका अनुसार बाघ हिँडडुल गर्ने सम्भावित क्षेत्र पहिचान गरी बाटोको दायाँ–बायाँ स्वचालित क्यामेरा जडान गरिएको छ। क्यामेराले खिचेका तस्बिरको आधारमा बाघको पहिचान गरी गणना गरिने संरक्षण अधिकृत वाग्लेले बताए। “क्यामेराले खिचेको बाघको पाटा अर्को बाघसँग मेल खाँदैन, त्यसैका आधारमा गणना गरिन्छ,” उनले भने।

बाघ गणनाका लागि निकुञ्जमा ७७ जनाको प्राविधिक टोली परिचालन गरिएको छ। आवश्यकता अनुसार हात्तीसमेत परिचालन गरिने बताइएको छ। बाघको गतिविधि अध्ययन गर्न ११ वटा क्याम्पबाट जनशक्ति परिचालन गरिएको छ।

निकुञ्जका अनुसार २६० ग्रिडमा ५२० स्वचालित क्यामेरा जडान गरिएको छ। एक ग्रिडमा एक जोडी क्यामेरा राखिने व्यवस्था गरिएको छ। डडेल्धुराको आलिताल, शुक्लाफाँटाको बनखेडा, वेदकोट, चिर्किट्टे, डाँडाजाइ, दोमिल्ला, कालिकिच, कुवा डाँडा, नौला, शुक्ला र तिकेनी क्षेत्रका विभिन्न ग्रिडमा क्यामेरा जडान गरिएको छ।

सन् २०२२ को राष्ट्रिय गणनाअनुसार शुक्लाफाँटामा ३६ वटा बाघ रहेकोमा निकुञ्जको आन्तरिक सर्वेक्षणमा हाल करिब ४३ वटा बाघ रहेको अनुमान गरिएको छ। पछिल्लो समय निकुञ्ज क्षेत्रमा बाघको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको संरक्षण अधिकृतहरूले बताएका छन्।

३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुककै कम क्षेत्रफलमा धेरै बाघ पाइने निकुञ्जका रूपमा परिचित छ। यहाँ बाघको आहारा प्रजातिको घनत्व उच्च भएकाले बाघको सङ्ख्या वृद्धि भएको संरक्षणकर्मीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट