काठमाडौँ : नेपाल एयरलाइन्सले यात्रुहरूको सहजताका लागि काठमाडौँ–दुबई–काठमाडौँ विशेष उडान सञ्चालन गर्ने भएको छ।मध्यपूर्वमा जारी असहज परिस्थितिका कारण विगत केही दिनदेखि प्रभावित भएका यात्रुहरूलाई गन्तव्यमा पुर्याउन उडान सञ्चालन गर्न लागिएको हो।
निगमले मंगलबार जारी गरेको सूचनाअनुसार काठमाडौँ–दुबई उडान ११ मार्चमा राति २३:१५ बजे काठमाडौँबाट प्रस्थान गर्नेछ। त्यसैगरी दुबई–काठमाडौँ उडान १२ मार्चमा स्थानीय समय अनुसार ०४:१० बजे दुबईबाट प्रस्थान गर्ने तालिका रहेको छ। उडान समय भने नियमित तालिकाअनुसार नै रहने निगमले जनाएको छ।
निगमका अनुसार २८ फेब्रुअरीदेखि ९ मार्च २०२६ सम्म टिकट लिएर पनि यात्रा गर्न नसकेका यात्रुले ११ मार्चको उडानमा यात्रा गर्न चाहेमा आफ्नो टिकट इमेलमार्फत पठाई पुनः प्रमाणीकरण गराउनुपर्नेछ। निगमले प्रमाणीकरण गरेका यात्रुहरूलाई मात्र विमानस्थल जान अनुरोध गरिएको छ।
निगमले मध्यपूर्व क्षेत्रमा जारी असहज परिस्थिति तथा सुरक्षाका कारण जुनसुकै समयमा उडान रद्द हुन सक्ने जनाएको छ। विषम परिस्थितिका कारण यात्रा अवरुद्ध भएमा थप आर्थिक वा अन्य जिम्मेवारी वहन गर्न नसक्ने निगमले स्पष्ट पारेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij