Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

त्रिशूलीना अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु

त्रिशूलीना अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु

चितवन :  त्रिशूली नदीको चञ्चल छालमाथि साहस, कौशल र सहकार्यको अद्भुत दृश्य मंगलबार देखियो । नेपालका नदीहरूमा आधारित साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायाकिङ महोत्सव मंगलबारदेखि त्रिशूली नदीमा सुरु भएको छ ।


नेपाल पर्यटन बोर्ड (एनटीबी) र नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) को संयुक्त आयोजनामा सुरु भएको यो तीनदिने प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित विभिन्न देशका राफ्टिङ तथा कायक खेलाडीहरु सहभागी भएका छन् । नदीको तीव्र छाल र चुनौतीपूर्ण धारा पार गर्दै खेलाडीहरूले आफ्नो दक्षता प्रदर्शन गरिरहेका छन् ।

प्रतियोगितामा कुल ५१ जना प्याडलर  सहभागी छन्। पहिलो दिन कायाक स्प्रिन्ट (३०० मिटर) र राफ्ट स्प्रिन्ट (३०० मिटर)  आयोजना गरिएको छ । कायाक स्प्रिन्ट प्रतिस्पर्धामा ५१ जनाले  प्रतिस्पर्धामा भाग लिएका छन् ।

आयोजकका अनुसार बुधबार कायाक क्रस (३०० मिटर), राफ्ट म्यानडेटरी प्रतिस्पर्धा हुनेछ, जसमा प्रारम्भिक चरणबाट छनोट भएका ३२ जना खेलाडी सहभागी हुने महोत्सवका संयोजक तथा नाराका उपाध्यक्ष शुक्र लामाले जानकारी दिएका छन् । प्रतियोगिताको अन्तिम दिन बिहीबार १० किलोमिटरको राफ्ट रेस हुनेछ, जसमा ८१३ टोली प्रतिस्पर्धामा उत्रनेछन् । प्रत्येक टोलीमा चार–चार जना खेलाडी रहनेछन् । 
भारतका दुई टोली र इजरायलका दुई टोलीसहित विदेशी खेलाडीहरूले त्रिशूलीको छालमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितालाई अझ स्वस्थ र पारदर्शी बनाउन खेलाडीहरूको समय मापनका लागि टाइम–चिप प्रणाली प्रयोग गरिएको छ ।

नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष कमल बहादुर ठकुरीले यो वर्षको महोत्सवलाई विशेष ऐतिहासिक अवसरका रूपमा लिएको बताए । उनका अनुसार यो वर्षको महोत्सव ‘सिल्भर जुबिली’को रूपमा मनाइँदैछ । उनले भने, “यो केवल खेलकुद प्रतियोगिता मात्र होइन, नेपालको नदी पर्यटन, साहसिक संस्कृति र सहभागीहरूको पहिचानसँग जोडिएको गौरवको उत्सव हो । यसले नेपाललाई विश्व साहसिक पर्यटनको नक्सामा अझ मजबुत रूपमा स्थापित गर्न सहयोग पुर्‍याउनेछ ।”

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले नदी, साहस र पर्यटनको संगम बनेको यो महोत्सवले नेपालका नदीहरूलाई विश्व साहसिक पर्यटन बजारमा थप उजागर गर्ने विश्वास बताएका छन्  । उनले थपे,“नेपालमा नदी–आधारित साहसिक पर्यटनले पछिल्ला दशकहरूमा तीव्र गति लिएको छ । विशेषगरी त्रिशूली, भोटेकोशी, कर्णाली र सेती नदीहरू राफ्टिङ तथा कायाकिङका लागि विश्वभरका साहसिक पर्यटकहरूको आकर्षण बनेका छन् । यसलाई थप प्रबद्र्धन गर्न यो महोत्सव प्रभावकारी हुने विश्वास लिएको छु । “ 


आयोजकका अनुसार प्रतियोगिताका विजेताहरूलाई विभिन्न विधामा १५ हजारदेखि १ लाख रुपैयाँसम्म नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय महोत्सवको समापन बिहीबार गरिनेछ। समापन समारोहमा विजेता खेलाडी पुरस्कार वितरण तथा नेपालमा राफ्टिङ संस्कृति सुरु गर्ने हिमालय रिभर एक्सप्लोरेसनलाई सम्मान गरिने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट