Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

देशका विभिन्न सहरमा ‘पिएम २.५’ को मात्रा उच्च, मास्क प्रयोग गर्न नागरिकलाई सुझाव

देशका विभिन्न सहरमा ‘पिएम २.५’ को मात्रा उच्च, मास्क प्रयोग गर्न नागरिकलाई सुझाव

काठमाडौँ : हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गएको छ। विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला सहरका साथै तराईका अधिकांश स्थानमा ‘पिएम २.५’ अर्थात् प्रदूषणका मसिना कणको मात्रा उच्च पुगेको वातावरण विभागले जनाएको छ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणको असरबाट जोगिन आम नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ। विभागले जारी गरेको अपिलमा प्रदूषण बढी हुने समयमा घरबाहिर निस्किँदा मास्क प्रयोग गर्न, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न तथा फोहोर र बालीनालीका अवशेष नजलाउन आग्रह गरिएको छ।

यसैगरी, वन–जङ्गलमा डढेलो नलगाउन र लागेमा तत्काल नियन्त्रणका लागि प्रयास गर्न, निर्माण कार्य गर्दा धुलो–धुवाँ नउड्ने व्यवस्था गर्न तथा उद्योग–कलकारखाना सञ्चालन गर्दा सरकारले तोकेका मापदण्ड पूर्ण रूपमा पालना गर्न विभागले अनुरोध गरेको छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वायु प्रदूषण न्यूनीकरणका लागि सम्बन्धित निकाय र आम नागरिकबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार सबैको सकारात्मक प्रयास भएमा मात्र प्रदूषण नियन्त्रण सम्भव हुन्छ।

विभागका अनुसार प्रदूषण विशेषगरी बिहान र बेलुका बढी हुने गरेको छ। चिसो मौसमका कारण विभिन्न स्रोतबाट निस्किएको धुवाँ र प्रदूषण फैलिन नसक्ने तथा लामो समयदेखि वर्षा नभएका कारण पनि यस समयमा वायु प्रदूषणको स्तर बढ्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट