काठमाडौं : नेपाली कांग्रेसका नेता तथा अस्पताल सञ्चालक डा. सुनील शर्मा ले निर्वाचनपछि आर्थिक रुपमा कमजोर नागरिकका लागि उपलब्ध गराइँदै आएको निःशुल्क स्वास्थ्य उपचार सेवा बन्द भएको भनेर बजारमा फैलिएको हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। सोमबार जारी गरेको सूचनामा उनले नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेज (केएमसी) सँग आबद्ध सामाजिक सेवाका कार्यक्रम निरन्तर रहने स्पष्ट पारेका छन्। यी दुवै अस्पतालमार्फत विगतदेखि नै विपन्न नागरिकलाई लक्षित गरी छुटदेखि निःशुल्क उपचारसम्मका सेवा उपलब्ध गराइँदै आएको उनले उल्लेख गरेका छन्।
डा. शर्माले भने, “यस प्रकारका सेवा तथा सुविधाहरू देशका विभिन्न स्थान, सम्बन्धित वडा तथा जिल्लाहरूमा उचित प्रक्रिया र आधिकारिक माध्यममार्फत उपलब्ध गराइँदै आएको सर्वविदितै छ। नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखी सेवा पुर्याउने हाम्रो प्रयास सधैँ निरन्तर रहँदै आएको छ।” उनले निर्वाचनको परिणाम र सामाजिक सेवा फरक विषय भएको पनि जोड दिए।
उनले थपे, “चुनावमा हार वा जित हुनु र सामाजिक सेवा एवं सत्कर्मबीच कुनै सम्बन्ध हुँदैन, न त कहिल्यै थियो। समाज र राष्ट्रप्रतिको हाम्रो दायित्वलाई आत्मसात् गर्दै यस्ता सेवा देशभर निरन्तर जारी राख्ने कुरा जानकारी गराउन चाहन्छु।” साथै, बजारमा फैलिएका भ्रममा नपरी आवश्यक जानकारीका लागि सम्बन्धित वडामा रहेका संस्थाका प्रतिनिधिहरूसँग सम्पर्क गर्न र संस्थाको नियम एवं विधिअनुसार सेवा लिन उनले अनुरोध समेत गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij