काठमाडौँ: गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम अन्तिम चरणमा पुगेको छ। अधिकांश निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिक मत गणना प्रक्रिया अझै जारी छ। यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको बलियो प्रवेश गराएको छ। ३५ वर्षमुनिका २३ जना युवा सांसदले प्रत्यक्ष चुनाव जितेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सर्वाधिक युवा विजयी भएका छन्।
उल्लेखनीय युवा सांसदमध्ये ३० वर्षीया सोविता गौतम चितवन–३ बाट विजयी भएकी छन्। दोलखाको तामाकोशी गाउँपालिकामा जन्मिएकी गौतमले ५९ हजार २७७ मतसहित विजय हासिल गरिन्। उनका निकटतम प्रतिस्पर्धी रेणु दाहालले २० हजार ६१५ मत पाएका थिए। गौतम यसअघि पनि काठमाडौँ–२ बाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन्। २८ वर्षीया सुलभ खरेल रूपन्देही–२ बाट विजयी भएकी छन्। उनले ५६ हजार ५५० मत ल्याएर पुराना पुस्ताको प्रतिनिधित्व गर्दै आएका प्रतिस्पर्धीलाई पछि पारे। मोरङ–६ बाट रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भएकी छन्।
काभ्रेपलाञ्चोक–२ बाट बदनकुमार भण्डारी ५३ हजार ३४४ मतसहित विजयी भएका छन्। ३३ वर्षीय भण्डारी ई–कमर्स व्यवसायी र मिडियाकर्मी हुन्। झापा–१ बाट निर्वाचित निशा डाँगी २९ वर्षकी छन् र उनले ४५ हजार ६८० मतसहित विजय हासिल गरिन्। उनी सामाजिक कार्यमा सक्रिय रहँदै २०७९ को प्रतिनिधिसभा समानुपातिक सांसद रहिसकेकी थिइन्। २६ वर्षीय मनीष खनाल नवलपुर–२ बाट ४१ हजार ३४७ मतसहित विजयी भएका छन्।
सिरहा–१ बाट २८ वर्षीय बब्लु गुप्ता विजयी भएका छन् भने मोरङ–४ बाट सन्तोष राजवंशी, सिराहा–२ बाट ३० वर्षीय शिवशङ्कर यादव, सिराहा–४ बाट ३३ वर्षीय तपेश्वर यादव, महोत्तरी–२ बाट ३४ वर्षीय दीपककुमार साह, महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित भएका छन्। काठमाडौँ–५ बाट २९ वर्षीय सस्मित पोखरेल, मकवानपुर–२ बाट २५ वर्षीय प्रशान्त उप्रेती, गुल्मी–१ बाट ३४ वर्षीय सागर ढकाल, प्युठान–१ बाट ३१ वर्षीय सुशान्त वैदिक, काठमाडौँ–१ बाट ३० वर्षीया रञ्जु न्यौपाने, बाग्लुङ–२ बाट ३४ वर्षीय सोम शर्मा, स्याङ्जा–२ बाट झविलाल डुम्रे, सप्तरी–२ बाट ३० वर्षीय रामजी यादव र कैलाली–२ बाट २६ वर्षीय केपी खनाल विजयी भएका छन्।
यस निर्वाचनले जनताले नयाँ पुस्तालाई अवसर दिन चाहेको सन्देश स्पष्ट पारेको छ। युवा सांसदहरूले संसदमा नयाँ सोच र कार्यक्षमता प्रस्तुत गर्दै जनताको अपेक्षा पूरा गर्नेछन् भन्ने आशा गरिएको छ। यसरी नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई नयाँ ऊर्जा मिलेको छ र आगामी समयमा यी युवा सांसदहरूको प्रभाव कस्तो रहनेछ भन्ने सबैको नजरमा रहनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij