कैलाली : कैलाली निर्वाचन क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. आनन्द बहादुर चन्द विजयी भएका छन्। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भएको मतगणनाको अन्तिम परिणाम अनुसार उनले ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।
को हुन् आनन्द बहादुर चन्द ?
त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्षभन्दा बढी समय उपप्राध्यापकका रूपमा सेवा गरेका उनले यही निर्वाचनबाट राजनीतिक यात्रा थालेका हुन्। शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यका क्षेत्रको अभियानमा उनी लामो समयदेखि सक्रिय थिए।
haatma
यसअघि उनी अग्रभागमा देखिनेभन्दा पनि योजनाको पृष्ठभूमि तयार गर्ने, रणनीति बनाउने र कार्यान्वयनको वातावरण तयार गर्ने काममा उनी बढी रुचि राख्थे। परिणाममा विश्वास गर्ने चन्द आमजनमा धेरै चर्चित नभए पनि शिक्षा र जनस्वास्थ्य क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन्।
बैतडीमा जन्मिएका चन्दको बाल्यकाल सुदूरपश्चिमको कठिन भौगोलिक र सामाजिक यथार्थसँगै बित्यो। पछि परिवारसहित कैलाली झरेपछि धनगढी उपमहानगरपालिका–८ उनको स्थायी बसोबास बन्यो। यही यात्राले उनलाई सुदूरपश्चिमको पीडा, सम्भावना र आवश्यकतालाई नजिकबाट बुझ्ने अवसर दियो।
शिक्षा उनको जीवनको आधारस्तम्भ बनेको छ। जैविक रसायनशास्त्रमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालय र अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीको सहकार्यमा पीएचडी पूरा गरेका छन्। अध्ययन र अनुसन्धानप्रतिको उनको रुचि अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित अनुसन्धानमार्फत देखिन्छ।
जनस्वास्थ्यका सवालमा पनि चन्द सक्रिय अभियन्ता हुन्। सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नसर्ने रोगविरुद्धको अभियानमा उनी अग्रपंक्तिमा देखिन्छन्। धूम्रपान नियन्त्रण, सुर्तीजन्य पदार्थमा चित्रसहित चेतावनी, विज्ञापन नियन्त्रणजस्ता नीतिगत सुधारका विषयमा उनले सरकारलाई सुझाव दिने मात्र होइन, कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने काम पनि गरेका छन्।
नसर्ने रोगसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरू (आयरल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, बेलायत, मेक्सिको र इन्डोनेसियासम्म)नेपालको प्रतिनिधित्व गर्दै उनले नेपालको अनुभव र चुनौतीबारे आवाज उठाएका छन्।
प्रशासनिक क्षेत्रमा पनि उनले सुधारका प्रयास गरेका छन्। नेपाल खाद्य संस्थानको अध्यक्षका रूपमा संस्थागत सुधारको पहल गरेका चन्द बी.पी. कोइराला मेमोरियल प्लान्टेरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियम विकास बोर्डका कार्यकारी निर्देशकसमेत रहिसकेका छन्।
दशकौँदेखि शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यमा गरेको कामको स्वाभाविक निरन्तरताका रुपमा उनले राजनीतिलाई लिएका छन्। सुदूरपश्चिमको राजधानीसमेत रहेको कैलाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले प्रदेशको आवाज उठाउने जिम्मेवारी आफूले वहन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
चितवनको उत्कृष्ट व्यवस्थापन संकायका कलेज बोस्टन कलेज चितवनका अध्यक्ष तथा प्राचार्य समेत रहेका चन्द निकै आत्मिय र लोकप्रिया हुनुहुन्छ । संसदमा उहाँको भूमिका उतकृष्ट र सशक्त बन्ने अपेक्ष गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij