काठमाडौं : काठमाडौं अर्थमन्त्री रामेश्वर खनालले पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड रहेको बताएका छन्।
परिसूचक मिडियाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना आज गरेको कार्यक्रममा बोल्दै मन्त्री खनालले पर्यटनले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन र समग्र आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताएका हुन्। ‘दिगो, समावेशी र जिम्मेवार पर्यटन अभ्यासमार्फत नेपालको अमूल्य प्राकृतिक सम्पदा र समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने दिशामा सरकार निरन्तर काम गरिरहेको छ। नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा कसरी अझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने भन्ने विषयमा प्राप्त सुझावहरू अत्यन्त महत्वपूर्ण छन्, मन्त्री खनालले भने।
मन्त्री खनालले पछिल्लो समय जेन–जी आन्दोलनपछि मुलुकमा देखिएका विभिन्न आशंका र अन्योललाई वर्तमान सरकारले सफलतापूर्वक सम्बोधन गर्न थालेको दाबी गरे। सरकारले पर्यटन क्षेत्रलाई उद्योगसरह विकास गर्ने नीति अघि बढाएको उल्लेख गर्दै उनले भ्रष्टाचार न्यूनिकरण, सुशासनको कार्यान्वयन र आर्थिक सुधारलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए। उनले सरकारका यी उपलब्धिहरूलाई संस्थागत गर्दै अर्थतन्त्रका सबै क्षेत्रलाई समान रूपमा अघि बढाउनेतर्फ सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। यद्यपि, निर्वाचनमा होमिएका राजनीतिक दलहरूबीच वर्तमान सरकारले ठोस काम गर्न सक्छ कि सक्दैन भन्ने संशय रहेको उल्लेख गर्दै मन्त्री खनालले आफ्ना कार्यकालमा भएका आर्थिक सुधारका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij