Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नारायणी पब्लिक स्कुलको ३१औँ वार्षिकोत्सव सम्पन्न

नारायणी पब्लिक स्कुलको ३१औँ वार्षिकोत्सव सम्पन्न

भरतपुर : भरतपुर महानगरपालिका वार्ड नं ११ विशालचोक स्थित चितवनको पाँचौँ निजी विद्यालयको रुपमा स्थापित नारायणी ई. पब्लिक स्कुलले आफ्नो स्थापनाको ३१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस यही फाल्गुन ४ र ५ गते सभ्य र भव्य ढङ्गले सम्पन्न गरेको छ ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रबन्ध निर्देशक श्री राजेश्वर खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक नगर प्रमुख चित्रसेन अधिकारी रहनु भएको थियो । विद्यालयले यहि माघ २१ गते देखि खेलकुद सप्ताह विधिवत् रुपमा शुभारम्भ गर्दै विद्यालयमा अध्ययन गर्ने विद्यार्थी बिच विभिन्न खेलकुद प्रतियोगिता गर्दै वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो । 

 

यस वर्ष पनि सदाझैँ जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता ,एकल नृत्य प्रतियोगिता  तथा जुनियर फुटसल प्रतियोगिता समेत गराइएको थियो । यस्तै फाल्गुन ५ गते वार्षिकोत्सव समुद्घाटन समारोह विद्यालयका अध्यक्ष एवम् प्रबन्ध निर्देशक राजेश्वर खनाल, प्रमुख अतिथि चित्रसेन अधिकारी , प्राचार्य वेदराज न्यौपाने एवम् विद्यालय निर्देशक अनिता खनालले पानसमा दीप प्रज्वलन गरी संयुक्त रुपमा समुद्घाटन गर्नुभएको थियो ।

 

विद्यालयका प्राथमिक तह प्रमुख दिवाकर पैड्यालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य वेदराज न्यौपानेले विद्यालयको वार्षिक प्रतिवेदन एवम् आगामी कार्ययोजना प्रस्तुत गर्दै चितवनकै उत्कृष्ट यस विद्यालयले आगामी दिनमा २१ औँ शताब्दिको माग, समाज र राष्ट्रको अपेक्षा अनुसारको शैक्षिक नीति तयार पार्दै प्रविधि मैत्री शिक्षण प्रक्रियालाई अघि बढाउने प्रण गर्नुभयो ।

 

नारायणी ई. पब्लिक स्कुलका संयोजक जनकराज घिमिरेले स्वागत मन्तव्य मार्फत सम्पूर्ण अभिभावक एवम् अतिथिहरुलाई कार्यक्रमको शोभा बढाइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययन गर्ने कलिला बालबालिकाको सृजना समेटिएको वार्षिक बाल पत्रिका “सयपत्री” १२ अंक १६ औँ वर्षको विशेषाङ्क अध्यक्ष एवम् प्रमुख अतिथिद्वारा लोकार्पित गरिएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि अधिकारीले शिक्षालाई पुर्वधारको पनि पुर्वधार भनिने र व्यावहारिक ज्ञान बिनाको शिक्षा अधुरो अनि अपुरो हुने कुरा व्यक्त गर्दै विद्यार्थीलाई नैतिक एवम् सच्चरित्रवान् बन्न आग्रह गर्नुभयो । समुद्घाटन समारोहलाई सम्बोधनगर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रबन्ध निर्देशक राजेश्वर खनालले अभिभावकको इच्छा बमोजिम नैतिक, चारित्रिक, एवम् विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा विद्यालय सदैव तत्परताका साथ लागेको  र नारायणी ई. पब्लिक स्कुल चितवनको उपयुक्त शैक्षिक गन्तव्य भएको, यहाँ अध्ययन गर्ने विद्यार्थी नैतिक, अनुशासित, व्यावहारिक र प्रतिभाशाली भएको कुरा बताउनुभयो । 

 

समुद्घाटन कार्यक्रममा विद्यालयमा अध्यापन गराउने उत्कृष्ट शिक्षकलाई सम्मान गरिनुका साथै गोलाप्रथा द्धारा दुई दिन चारजना भाग्यसाली अभिभावकहरुलाई आर्कषक पुरस्कार, उत्कृष्ट वर्ष विद्यार्थी पुरस्कार, उत्कृष्ट खेल पुरस्कार, अध्ययन र जिल्लास्तरीय प्रतियोगितामा विजयी विद्यार्थीलाई सम्मान गरिनुका साथै विद्यार्थीद्वारा स्वस्तिवाचन,  मार्चपास, तेक्वान्दो, नृत्य, जस्ता विविध प्रस्तुतिबाट कार्यक्रमलाई थपआकर्षक बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट