Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

इच्छाकामनामा एच.पि.भि.खोप कार्यक्रम सुरु, ३५२ जना किशोरीहरुलाई खोप लगाइने

इच्छाकामनामा एच.पि.भि.खोप कार्यक्रम सुरु, ३५२ जना किशोरीहरुलाई खोप लगाइने

इच्छाकामना, चितवनको इच्छाकामनामा बुधबारदेखि  पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. (H.P.V.) खोप कार्यक्रम सुरु भएको छ ।  गाउँपालिका उपाध्यक्ष माया सिलवालको अध्यक्षता तथा जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेको प्रमुख आतिथ्यमा एक कार्यक्रमकाबिच सर्वशान्ति माध्यमिक विद्यालयमा खोप अभियानको शुभारम्भ गरिएको हो । 
 प्रमुख अतिथि जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले यस अभियानलाई सफल बनाउन सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । 
उपाध्यक्ष माया सिलवालले पाठेघरको मुखको क्यान्सर जस्तो गम्भीर रोगबाट किशोरीहरूलाई सुरक्षित राख्ने उद्देश्यले सञ्चालन गरिएको यस खोप कार्यक्रमलाई प्रभावकारी बनाउन अभियानमा जुटेका स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविकाहरू, विद्यालयका प्रधानाध्यापक लगायत सम्पूर्ण शिक्षकहरूलाई धन्यवाद दिनुभयो । लक्षित बालिका तथा किशोरीहरु खोपबाट वञ्चित  हुन नदिन स्वास्थ्यकर्मी शिक्षक जनप्रतिनिधि समाजका अगुवाहरु चनाखो हुनुपर्ने उहाँको भनाई छ । 


फागुन १ गते सम्म चल्ने  अभियानमा ३५२ जना किशोरीहरुलाई खोप लगाइने स्वास्थ्य शाखा इच्छाकामना स्वास्थ्य शाखाका प्रमुख हरि देवकोटाले बताउनुभयो ।उहाँका अनुसार कक्षा ६ मा अध्ययन गर्ने छात्राहरु र विद्यालय नजाने १० बर्ष उमेरका किशोरीहरुलाई खोप लगाइन्छ । साथै गत बर्ष सञ्चालित एच.पि.भि.खोपका लागि निर्धारित लक्षित समूहका छात्रा किशोरीहरु मध्ये खोप लगउन छुटेका हाल कक्षा ७ देखि १० मा अध्ययनरत छात्राहरु र  विद्यालय नजाने ११ देखि १४ बर्ष उमेरका किशोरीहरुलाई समेत खोप लगाइने छ । पालिकाका २४ वटा विद्यालयमा खोप सञ्चालन गरिने छ ।   विद्यालयमा खोप सञ्चालन हुदाँ छुटेकाहरुका लागि अन्तिम दिन फागुन १ गते स्वास्थ्य संस्थामा खोप लगाइने उहाँले जानकारी दिनुभयो । 
गाउँपालिकाले सबै अभिभावक तथा समुदायका सदस्यहरूलाई आफ्ना छोरीहरूलाई अनिवार्य रूपमा खोप लगाई कार्यक्रम सफल बनाउन अनुरोध समेत गरेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij