काठमाडौँ : सरकारले जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप्ने भएको छ। सोमवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले तेस्रोपटक सो आयोगको म्याद थप गर्ने निर्णय गरेको हो। आयोगको दोस्रोपटक थप गरिएको म्याद माघ २८ गते बुधवार सकिँदै छ। आयोगको म्याद पुनः थप्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
अर्यालले भने, ‘नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयानुसार भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय गरियो।’
सरकारले गत असोज ५ गते जेनजी आन्दोलनको क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाको छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो।
३ महिनाको कार्यादेशसहित गठित सो आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिनाका लागि आयोगको म्याद थपेको थियो।
आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले पुनः २० दिन आयोगको म्याद थप गरेको थियो। दोस्रोपटक थपिएको समयावधिभित्र पनि आयोगले प्रतिवेदन बुझाउन नसकेपछि पुनः तेस्रोपटक २५ दिन सरकारले म्याद थपेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij