महोत्तरी : महोत्तरीमा निर्वाचनको चहलपहल बढेसँगै आर्थिक गतिविधिमा पनि बढोत्तरी हुन थालेको छ । खासगरी होटल व्यवसायी यसबाट लाभान्वित भएका छन् । राजनीतिक दल र तिनका उम्मेदवारका साथै कार्यकर्ताको सघन उपस्थितिले आगामी एक महिनासम्म ग्राहकको अभाव नहुने होटल व्यवसायी बताउँछन् ।
महोत्तरी क्षेत्र–१ को बर्दिबासमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारका निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएसँगै होटलमा ग्राहकको सङ्ख्या ह्वात्तै बढेको छ । बर्दिबासचोक वरपर १० वटा दलले निर्वाचन परिचालन कार्यालय सञ्चालनमा ल्याएका छन् । यी कार्यालय सञ्चालनमा आएलगत्तै बजार चहलपहल ह्वात्तै बढेको बर्दिबासकै अर्का होटल व्यवसायी विमल भण्डारी बताउँछन् । जिल्लाका चारवटा निर्वाचन क्षेत्रका सबैजसो केन्द्र (निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका ठाउँ) बजार क्षेत्रमै छन् । क्षेत्र नम्बर–१ को बर्दिबास, २ को बलवा, ३ को जलेश्वर र चारको रामगोपालपुरमा निर्वाचन अधिकृतको कार्यालय छ ।
अहिले यी ठाउँमात्र नभएर मटिहानी, पिपरा, मनरा, सम्सी, गौशाला, सीतापुर, लोहारपट्टी, औरही, खयरमारा, सरपल्लो, रौजासहितका बजार क्षेत्रका होटल ग्राहकले खचाखच देखिन्छन् । यी ठाउँमा दल र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताको जमघट बढेसँगै बजारु चहलपहलमा वृद्धि भएको रौजाबजारका सामाजिक कार्यकर्ता मन्सुल कवारीको भनाइ छ । चुनावी चहलपहलले होटलमात्र नभएर अन्य व्यापार व्यवसाय पनि चलायमान भएको व्यापारी बताउँछन् । “अहिले चुनावले बजारमा चहलपहल बढेको छ”, सीतापुर बजारका कपडा व्यापारी सहवुल अन्सारी भन्छन्, “व्यापारीलाई राहत मिलेको छ ।”
बजारमा चहलपहल बढेको छ । यससँगै झण्डा, ब्यानर, पर्चा र पम्प्लेटका लागि कपडा पसल, पेन्टर र प्रेसमा चुनावी प्रयोजनका ग्राहक बढ्दै गएका गौशाला बजारका अजय साहको भनाइ छ । निर्वाचन जनजन र घरघर परिचालित हुने ‘महापर्व’ जस्तै हो । आगामी फागुन ३ गतेपछि चुनावी प्रचार औपचारिक रुपमा सुरु भएपछि चहलपहल झन बढ्ने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij