काठमाडौँ : यो साता सूर्यले निकै आक्रामक रूप देखाउँदै बुधबार अर्को शक्तिशाली सौर्य ज्वाला (सोलार फ्लेयर) निकालेको छ। ‘एक्स ४.२’ श्रेणीको यो शक्तिशाली ज्वालाका कारण पश्चिमी अफ्रिका र दक्षिणी युरोपका केही भागमा रेडियो सञ्चारमा क्षणिक अवरोध उत्पन्न भएको छ। सूर्यको सतहमा रहेको ‘एआर४३६६’ नामक सनस्पट समूहबाट यो विस्फोट भएको हो, जुन पछिल्ला केही दिनदेखि लगातार सक्रिय देखिएको छ।
एक्स-क्लासका सौर्य ज्वालाहरू सबैभन्दा शक्तिशाली मानिन्छन्, जसले पृथ्वीको माथिल्लो वायुमण्डलमा विकिरणको बाढी ल्याउँदै सञ्चार प्रणालीमा असर पुर्याउँछन्। वैज्ञानिकहरूका अनुसार यो विस्फोटका साथै कोरोनल मास इजेक्सन (सीएमई) अर्थात् प्लाज्माको ठुलो मुस्लो भने बाहिरिएको सङ्केत देखिएको छैन।
यद्यपि, अघिल्लो पटक भएको अर्को ठुलो विस्फोट (एक्स ८.४) बाट निस्किएको केही सौर्य पदार्थ पृथ्वीको नजिक आइपुगेकाले आज वा भोलिसम्म सामान्य भू-चुम्बकीय आँधी (जी१) आउन सक्ने अनुमान गरिएको छ।
अहिले सूर्यमा देखिएको यो ‘सनस्पट ४३६६’ क्षेत्र यति विशाल छ कि यसको चौडाइ पृथ्वीभन्दा १५ गुणा बढी छ। विशेष सुरक्षित चस्मा (सोलार एक्लिप्स ग्लास) को प्रयोग गरेर यसलाई पृथ्वीबाटै नाङ्गो आँखाले पनि देख्न सकिन्छ।
एरिजोनाका खगोल फोटोग्राफर मार्क जोन्स्टनले यसको एउटा अद्भुत तस्बिर समेत कैद गरेका छन्। यो क्षेत्र अझै पनि पृथ्वीतर्फ नै फर्किएको र सक्रिय रहेकाले आगामी दिनमा यसले थप प्रभाव पार्न सक्ने भन्दै अन्तरिक्ष मौसमविद्हरूले नजिकबाट निगरानी गरिरहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij