बुटवल : लुम्बिनीमा आगामी १६ र १७ वैशाखमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ। बिहीबार बसेको लुम्बिनी विकास कोषको परिषद् बैठकले लुम्बिनीको पर्यटन प्रवर्द्धन तथा पर्यटक आगमन बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचारप्रसारलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि मूल आयोजक समारोह समिति गठन गरेको छ।
समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा रहने गरी १० सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्णय गरिएको हो।
सरकारले चालु आर्थिक वर्षका लागि सम्मेलन आयोजनामा ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यसअघि देशमा भएको राजनीतिक तथा संरचनात्मक परिवर्तनका कारण नोभेम्बरमा आयोजना गर्ने भनिएको सम्मेलन २५७०औं बुद्ध जयन्तीको अवसर पारेर आगामी १६ र १७ वैशाखमा लुम्बिनीमा गर्ने तयारी गरिएको हो। बुद्ध धर्म र दर्शनमार्फत विश्व शान्ति प्रवर्द्धन गर्दै दया, करुणा र विश्व बन्धुत्वको भावना फैलाउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको मूल समारोह समितिका संयोजक डा. लामाले जानकारी दिए।
सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका बौद्ध विद्वान, गुरु, विशिष्ट पाहुना तथा विभिन्न क्षेत्रका महत्त्वपूर्ण व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। दुई दिने हुने सम्मेलनमा बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु तथा बुद्धसँग सम्बन्धित क्षेत्रहरूको सम्पदा, लुम्बिनी क्षेत्रको पर्यावरणीय अवस्था, विश्व बौद्ध सम्पदा, बौद्ध शिक्षा तथा संस्कृतिका विषयमा छलफल र कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । यसअघि भएका आयोजना भएका पहिलो र दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले नेपालको धार्मिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको लुम्बिनी विकास कोषले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij