Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवनमा विश्व सिमसार दिवस मनाइयो, २० घडियाल गोही राप्ती नदीमा छाडियो

चितवनमा विश्व सिमसार दिवस मनाइयो, २० घडियाल गोही राप्ती नदीमा छाडियो

चितवन : “सिमसार र परम्परागत ज्ञानः सांस्कृतिक सम्पदाको सम्मान” भन्ने नाराका साथ यस वर्षको विश्व सिमसार दिवस चितवनमा विभिन्न सचेतनामूलक कार्यक्रमसहित मनाइएको छ। चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका सरोकारवाला निकायहरूको साझेदारीमा कार्यक्रमहरू सञ्चालन गरिएको हो।

 

सोही अवसरमा स्थानीय आदिवासी बोटे समुदायको प्रत्यक्ष सहभागितामा कसरास्थित घडियाल गोही प्रजनन केन्द्र नजिक राप्ती नदीमा २० वटा घडियाल गोही छाडिएको छ। नदी क्षेत्रमा माछा मार्ने कार्यमा संलग्न बोटे, माझी तथा मुसहर समुदायका व्यक्तिहरू नदी वरपर धेरै समय बिताउने भएकाले दुर्लभ तथा महत्वपूर्ण प्रजाति घडियाल गोही संरक्षणमा उनीहरूको अपनत्व बढाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको निकुञ्ज कार्यालयले जनाएको छ।

कार्यक्रममा भरतपुर महानगरपालिका–२२ का मिना बोटे, जंगबहादुर बोटे, छन् बहादुर बोटे, सोमलाल बोटे, दीपक बोटे, सुरेन बोटे, सुरेश बोटे, बल बहादुर बोटे, बुद्धिराम बोटे, सृष्टि बोटे लगायतले घडियाल गोही राप्ती नदीमा छाडेका थिए।

स्थानीय समुदायलाई संरक्षण कार्यमा प्रत्यक्ष सहभागी गराउँदा नदी क्षेत्रमा देखिने घडियालको संरक्षणमा उनीहरूको चासो अझ बढ्ने विश्वास गरिएको छ। विगतमा पनि माछा मार्ने क्रममा स्थानीय व्यक्तिहरूले दिएको सूचनाको आधारमा जालमा अड्किएका घडियाल गोहीहरूको उद्धार गरिएको निकुञ्जले जनाएको छ।

आगामी दिनमा स्थानीय आदिवासी समुदायलाई संरक्षण गतिविधिमा थप जोड्ने तथा संरक्षणमार्फत उनीहरूको जीविकोपार्जनमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट